
कोलकाता, ३० जून (हि.स.)। पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लास्थित हल्दिया रिफाइनरी परिसरमा मंगलबार बिहान नेफ्था पाइपलाइनमा आगलागी हुँदा हलचल मच्चिएको छ। घटनामा धेरै श्रमिक आगोको चपेटामा परेर घाइते भएका छन्। स्थानीयवासीहरूको सहयोगमा उनीहरूलाई अस्पताल पुर्याइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
यो दुर्घटना मंगलबार बिहान करिब ४ बजी भएको हो। हल्दिया रिफाइनरीको नेफ्था ढुवानी गर्ने पाइपलाइनमा अचानक आगलागी भएको थियो, जसले केही समयमै भीषण रूप लिएयो। पाइपलाइन फुटेर नेफ्था चुहावट भएको र त्यसैका कारण आगो लागेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन।
आगोको चपेटामा परेर वरपर काम गरिरहेका धेरै श्रमिक गम्भीर रूपमा घाइते भएका छन्। स्थानीयवासीहरूले तत्काल उद्धार तथा राहत कार्य शुरु गर्दै घाइतेहरूलाई हल्दिया उपमण्डल अस्पताल पुर्याए। गम्भीर घाइते केही श्रमिकलाई थप उपचारका लागि तमलुक मेडिकल कलेज तथा अस्पतालमा रिफर गरिएको छ।
घटनास्थल हल्दिया-पांशकुडा रेलमार्ग नजिकै भएकाले केही समय रेल सेवा पनि प्रभावित भएको थियो। जानकारी प्राप्त हुनासाथ दमकल विभागका दुईवटा गाडी घटनास्थलमा पुगेका थिए र आगो निभाउने कार्य शुरु गरेका थिए। पछि थप दमकल गाडीहरू पनि घटनास्थलतर्फ पठाइएका थिए। समाचार लेख्दासम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थिएन।
उता, दुर्घटनाको कारणबारे रिफाइनरी व्यवस्थापनले हालसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन। प्रशासन तथा सम्बन्धित निकायहरू घटनाको अनुसन्धानमा जुटिरहेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी