
नयाँ दिल्ली, ३० जुन (हि.स.)। भारतीय तटरक्षक बलले कर्नाटकको मंगलुरु तट नजिक खराब मौसमका कारण समुद्रमा संकटमा परेको 'मञ्जु माथा' नामक माछा मार्ने डुंगाबाट ६ जना मछुवालाई सफलतापूर्वक उद्धार गरेको छ।
तटरक्षक बलका अनुसार, खराब समुद्री अवस्थाका कारण डुंगामा तीव्र रूपमा पानी पसेको थियो र डुंगाको संरचनामा क्षति पुगेपछि सबै ६ जना चालक दलका सदस्यको ज्यान जोखिममा परेको थियो। तटरक्षक जहाज 'सचेत' ले समुद्री तटबाट करिब ३३ नटिकल माइल टाढा पुगेर उद्धार अभियान सञ्चालन गरेको थियो।
कमान्डेन्ट अमित उनियालका अनुसार, २९ जून साँझ करिब ४ बजी आईसीजी जहाज 'सचेत' ले सुरतकल तटबाट करिब ३३ नटिकल माइल टाढाबाट आएको आपतकालीन सन्देश प्राप्त गरेको थियो। सूचना प्राप्त हुनासाथ जहाजको मार्ग परिवर्तन गरी करिब ९० मिनेटभित्र उद्धार टोली घटनास्थलमा पुग्यो।
उद्धार अभियान अत्यन्त प्रतिकूल मौसममा सञ्चालन गरिएको थियो। समुद्रमा उच्च छाल, तीव्र हावा, कम दृश्यता तथा अन्धकारका कारण अभियान चुनौतीपूर्ण बनेको थियो। यस्ता कठिन परिस्थितिका बीच तटरक्षक टोलीले विशेष रूपमा खराब समुद्री अवस्थाका लागि डिजाइन गरिएको रिमोट सञ्चालित लाइफबोय प्रयोग गर्दै सबै मछुवासम्म सुरक्षित रूपमा पुग्न सफल भयो।
साँझ ६ बजीसम्म सबै ६ जना चालक दलका सदस्यलाई सकुशल र कुनै चोटपटक बिना उद्धार गरिएको थियो। त्यसपछि उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न न्यू मंगलुरु पठाइयो।
भारतीय तटरक्षक बलले यो अभियानले अत्यन्त कठिन समुद्री आपतकालीन अवस्थामा आफ्ना जवानहरूको साहस, तालिम, व्यावसायिक दक्षता तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोगलाई पुनः प्रमाणित गरेको जनाएको छ। साथै, समुद्रमा संकटमा परेका व्यक्तिहरूलाई समयमै सहायता पुर्याउन भारतीय तटरक्षक बल निरन्तर सतर्क रहेको पनि जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी