शिवराज सिंह चौहानले अरूणाचल प्रदेशका बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने
शिवराज सिंह चौहानले अरूणाचल प्रदेशका बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने


नयाँ दिल्ली, ३० जुन (हि.स.)। केन्द्रिय कृषि तथा किसान कल्याण एवं ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहान दुईदिने उत्तर-पूर्वी भारत भ्रमणमा जाने भएका छन्। चौहान ३० जूनमा दिल्लीबाट प्रस्थान गरी सोही दिन असमको राजधानी गुवाहाटीमा उच्चस्तरीय बैठक गर्नेछन् र त्यसपछि १ जुलाईमा अरुणाचल प्रदेशका बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरी स्थलगत अवस्थाको जायजा लिनेछन्।

कृषि मन्त्रालयले मङ्गलवार जानकारी दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा केन्द्र सरकारले बाढी प्रभावित क्षेत्रहरूको अवस्थामाथि प्रत्यक्ष निगरानी गरिरहेको तथा राहत र पुनर्स्थापना कार्यलाई तीव्र बनाउन जमीनी रूपमा निर्णय लिन चाहेको जनाएको छ। यसै क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर-पूर्वका असम र अरुणाचल प्रदेशमा बाढीको अवस्थालाई गम्भीरताले लिँदै केन्द्रिय मन्त्री शिवराज सिंह चौहानलाई तत्काल स्थलगत समीक्षा गर्न पठाउने निर्णय गरेका छन्।

निर्धारित कार्यक्रम अनुसार चौहान ३० जूनमा दिल्लीबाट प्रस्थान गरी सोही दिन असमको राजधानी गुवाहाटी पुग्नेछन् र त्यहाँ राज्य सरकारका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय बैठक गर्नेछन्। उक्त बैठकमा असम तथा छेउछाउका क्षेत्रमा बाढीका कारण बाली, गाउँ तथा पूर्वाधारमा परेको प्रभाव, सञ्चालनमा रहेका राहत कार्यहरूको प्रगति तथा आगामी आवश्यकताबारे विस्तृत छलफल हुनेछ।

असमको समीक्षा सम्पन्न गरेपछि १ जुलाईमा शिवराज सिंह चौहान अरुणाचल प्रदेशका बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गर्नेछन्। त्यहाँ उनले हवाई तथा स्थलगत सर्वेक्षणमार्फत बाढीको मारमा परेका गाउँ, खेतीयोग्य जमीन तथा राहत शिविरहरूको अवस्थालाई नजिकबाट हेर्नेछन्।

केन्द्रिय मन्त्री चौहानले बाढी प्रभावित किसान, स्थानीय बासिन्दा, महिला समूह तथा युवाहरूसँग प्रत्यक्ष संवाद गरी अहिलेसम्म पुगेको सहायता कत्तिको प्रभावकारी भएको छ र तत्काल कस्ता थप कदम आवश्यक छन् भन्नेबारे जानकारी लिनेछन्।

सोही दिन उनले अरुणाचल प्रदेश सरकारका मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू तथा अन्य जनप्रतिनिधिहरूसँग बैठक पनि गर्नेछन्। ती बैठकहरूमा बाली क्षतिको मूल्याङ्कन, किसानलाई क्षतिपूर्ति तथा बाली बीमा भुक्तानी, बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा तटबन्धहरूको मर्मत तथा ग्रामीण पूर्वाधारको पुनर्निर्माण रणनीतिबारे छलफल गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande