
दौसा, 01 जुलाई (हि.स.)। राजस्थान राज्यअन्तर्गत दौसा जिल्लामा रहेको दिल्ली-मुम्बई एक्सप्रेसवेमा बुधबार बिहान भएको भीषण सडक दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। दुर्घटनापछि बस र ट्रकमा आगलागी हुँदा धेरै यात्रु गम्भीर रूपमा जलेका थिए।
पुलिसका अनुसार, ऋषिकेशबाट इन्दौरतर्फ जाँदै गरेको एक स्लीपर बस कोलवा थाना क्षेत्रको तनावडस्थित जिरो प्वाइन्ट नजिक अगाडि गुडिरहेको ट्रकसँग ठोक्किएको थियो। ठक्करपछि बस र ट्रक दुवैमा आगलागी भयो।
दौसाका पुलिस अधीक्षक पियुष दीक्षितका अनुसार, दुर्घटनामा ५ जनाको आगोमा जलेर मृत्यु भयो भने अन्य २ जनाको टाउकोमा गम्भीर चोट लागेका कारण ज्यान गएको हो। घाइतेहरूलाई दौसा जिल्ला अस्पतालमा भर्ना गरिएको छ। हालसम्म ९ जना घाइतेको पहिचान भइसकेको छ भने अन्यको पहिचान गर्ने कार्य जारी रहेको छ।
स्थानीयवासीहरूले दुर्घटनाको जानकारी बिहान करिब ३:२० बजी नै पुलिस र एक्सप्रेसवे व्यवस्थापनलाई गराएको भए पनि दमकल र एम्बुलेन्स समयमै घटनास्थलमा नपुगेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, उद्धार तथा राहत कार्यमा ढिलाई हुँदा बसभित्र फसेका यात्रुहरूलाई करिब एक घण्टापछि मात्र बाहिर निकाल्न सकिएको थियो।
स्थानीय बासिन्दा महेन्द्र नागरले दमकल समयमै पुगेको भए आगो छिट्टै नियन्त्रणमा लिन सकिने र थप मानवीय क्षति हुनबाट जोगाउन सकिने दाबी गरेका छन्। उनले बसको स्टोरेज बक्समा चुरोटका प्याकेटहरू भरिएको पनि दाबी गरेका छन्।
पुलिस र प्रशासनका टोलीहरूले घटनास्थलमा राहत तथा उद्धार कार्य सञ्चालन गरेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी