
चण्डीगढ़, १ जुलाई (हि.स.)। हरियाणाका मुख्यमन्त्रीको कार्यालय तथा चण्डीगढ़ स्थित एयर फोर्स स्कूल सहित विभिन्न विद्यालयहरूलाई पुनः बम विस्फोट गराएर उड़ाइदिने धम्की प्राप्त भएको छ। गर्मी बिदापछि बुधवार विद्यालयहरू खुलेको पहिलो दिनमै धम्कीपूर्ण इमेल प्राप्त भएपछि पुलिस प्रशासन र सुरक्षा निकायहरू सतर्क भएका छन्।
धम्कीपूर्ण इमेल चण्डीगढ़को सेक्टर–३७ स्थित सरकारी मोडेल सिनियर सेकेन्डरी स्कूल ३७–बी तथा केन्द्रिय विद्यालय सेक्टर-47 लाई प्राप्त भएको बताइएको छ। इमेलमा चण्डीगढ़का सबै विद्यालयहरूमा दिउँसो १:११ बजी तथा हरियाणा मुख्यमन्त्री कार्यालयमा दिउँसो ३:११ बजी बम विस्फोट गराइने उल्लेख गरिएको थियो।
चण्डीगढ़को सेक्टर–३१ स्थित एयरफोर्स स्कूललाई पनि इमेल मार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि सुरक्षा निकायहरूमा खैलाबैला मच्चिएको छ। सूचना प्राप्त हुनासाथ चण्डीगढ़ पुलिस , बम निष्क्रिय पार्ने टोली, डग स्क्वाड तथा अन्य सुरक्षा एजेन्सीहरू घटनास्थलमा पुगे र विद्यालय परिसरको सघन जाँच शुरु गरे।
प्रारम्भिक जानकारी अनुसार विद्यालय प्रशासनले प्राप्त गरेको इमेलमा विद्यालय परिसरभित्र बम राखिएको दाबी गरिएको थियो। सुरक्षा निकायहरूले इमेलको स्रोत तथा आईपी ठेगाना पत्ता लगाउने प्रयास समेत तीव्र बनाएका छन्।
धम्कीपछि विद्यालय परिसर तथा वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सावधानीस्वरूप सम्पूर्ण परिसरको विस्तृत जाँच भइरहेको छ। हालसम्म कुनै शंकास्पद वस्तु फेला परेको आधिकारिक पुष्टि भएको छैन।
चण्डीगढ़ पुलिसले घटनासम्बन्धी मुद्दा दर्ता गरी साइबर विज्ञहरूको सहयोगमा धम्कीपूर्ण इमेल पठाउने व्यक्तिको पहिचान गर्ने प्रक्रिया शुरु गरेको छ। चण्डीगढ़ पुलिसका प्रवक्ताले धम्की प्राप्त भएका विद्यालय तथा संस्थानहरूमा पुलिस टोलीहरूद्वारा जाँच भइरहेको र सबै सुरक्षा टोलीहरू घटनास्थलमा तैनाथ रहेको जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी