
श्रीभूमि (असम), १० जुलाई (हि.स.)। असमको श्रीभूमि जिल्लामा पुलिसले लागूऔषध विरुद्ध सञ्चालन गरेको विशेष अभियानका क्रममा लगभग ३ करोड़ रुपियाँ मूल्य बराबरका ३० हजार याबा ट्याब्लेट जफत गर्दै तीन जनालाई पक्राउ गरेको छ। यस सफल कारबाहीको मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रशंसा गर्दै पुलिसलाई बधाई दिएका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत अभियानबारे जानकारी साझा गर्दै असम पुलिसले लागूऔषधको ठूलो खेप गन्तव्यमा पुग्नुअघि नै नियन्त्रणमा लिन सफल भएको बताएका छन्। उनले भने, “हरेक खेपको एउटा गन्तव्य हुन्छ र यसको गन्तव्य पुलिस चौकी बन्यो।”
डा. हिमन्त बिस्व सरमाले यो कारबाही लागूऔषध तस्करीको सञ्जाल समाप्त गर्ने असम पुलिसको निरन्तर प्रतिबद्धताको प्रमाण भएको बताए।
उनले राज्य सरकारको ‘नशामुक्त असम’ अभियान अन्तर्गत लागूऔषध तस्करी विरुद्ध कारबाहीलाई अझ् तीव्र बनाइने पनि स्पष्ट पारे।
पुलिस अनुसार जफत गरिएका याबा ट्याब्लेटको स्रोत तथा आपूर्ति सञ्जाल पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरिएको छ। साथै यस तस्करी सञ्जालसँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान गरी उनीहरूमाथि पनि आवश्यक कानूनी कारबाही अघि बढ़ाइँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी