
चण्डीगढ़, १३ जुलाई (हि.स.)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चण्डीगढ़ र पञ्जाब भ्रमणअघि सुरक्षा निकायहरू हाई अलर्टमा उच्च छन्। चण्डीगढ़ र मोहालीका धेरै विद्यालयहरूलाई पुनः धम्कीपूर्ण इमेल पठाइएको छ, जसमा १७ जुलाईमा चण्डीगढ़ र जालन्धरका विभिन्न स्थानमा बम विस्फोट गराइने चेतावनी दिइएको छ।
प्रधानमन्त्री मोदीको १७ जुलाईमा पञ्जाब भ्रमणमा जाने कार्यक्रम रहेको छ। सो क्रममा उनले जालन्धर क्यान्ट रेलवे स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ। यसैबीच प्राप्त धम्कीपूर्ण इमेलमा चण्डीगढ़ र मोहालीका विद्यालयहरूका साथै मोहाली मेयर कार्यालयलाई पनि निशाना बनाउने उल्लेख गरिएको छ।
इमेलमा जालन्धर र चण्डीगढ़ रेलवे स्टेशनमा आईईडी विस्फोट गराइने धम्की समेत दिइएको छ। साथै केन्द्रिय रेल राज्यमन्त्री रवनीत सिंह बिट्टूलाई ज्यान मार्ने धम्की दिइएको र पञ्जाबका नागरिकहरूलाई प्रधानमन्त्री मोदीको सभामा सहभागी नहुन चेतावनी पनि दिइएको छ।
धम्की प्राप्त भएपछि पुलिस तथा सुरक्षा निकायहरूले घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान शुरु गरेका छन्। विद्यालयहरू तथा अन्य संवेदनशील स्थानहरूको सुरक्षा व्यवस्था थप कड़ा पारिएको छ।
पछिल्ला दिनहरूमा चण्डीगढ़ र मोहालीका विद्यालयहरूले यस्तै प्रकृतिका धम्कीपूर्ण इमेलहरू पटक–पटक प्राप्त गर्दै आएका छन्। लगातार धम्की आइरहेकाले सुरक्षा निकायहरू पहिलेदेखि नै उच्च सतर्क अवस्थामा रहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी