
नयाँ दिल्ली, १० जुलाई (हि.स.)। भारत र अष्ट्रेलियाले भारतको परम्परागत ज्ञान डिजिटल लाइब्रेरी (टीकेडीएल) सम्बन्धी एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौता बिहिवार मेलबर्नमा आयोजित तेस्रो भारत–अष्ट्रेलिया वार्षिक शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको उपस्थितिमा सम्पन्न भयो।
विज्ञान तथा प्रविधि विभागले शुक्रवार दिएको जानकारी अनुसार, अष्ट्रेलियासँग भएको यस सम्झौतापछि टीकेडीएलमा पहुँच प्राप्त गर्ने देशहरूको संख्या १८ पुगेको छ। टीकेडीएलको सहयोगमा हालसम्म विश्वभरि भारतको परम्परागत ज्ञानमा आधारित ३७५ भन्दा बढ़ी पेटेन्ट आवेदनहरू रद्द, अस्वीकृत, संशोधित वा फिर्ता गराइएको छ। यो सम्झौताले भारतको सांस्कृतिक तथा परम्परागत सम्पदाको संरक्षण गर्नका साथै बौद्धिक सम्पत्ति अधिकारको क्षेत्रमा भारत र अष्ट्रेलियाबीचको सहकार्यलाई अझ् सुदृढ़ बनाउने अपेक्षा गरिएको छ।
सम्झौता अनुसार, अब अष्ट्रेलियाको पेटेन्ट कार्यालयले भारतको टीकेडीएल डाटाबेस प्रयोग गर्न सक्नेछ। कुनै नयाँ औषधि, उपचार पद्धति वा परम्परागत ज्ञानसँग सम्बन्धित पेटेन्ट आवेदन प्राप्त हुँदा अधिकारीहरूले पहिले टीकेडीएलमा त्यसको जाँच गर्नेछन्। यदि उक्त जानकारी भारतको परम्परागत ज्ञानको अंश भएको पाइएमा त्यसमा नयाँ पेटेन्ट प्रदान गरिने छैन।
उल्लेखनीय छ कि टीकेडीएल भारतको एक विशेष डिजिटल डाटाबेस हो, जसलाई सन् २००१ मा (सीएसआईआर) र आयुषले संयुक्त रूपमा विकास गरेका हुन्। यसको उद्देश्य आयुर्वेद, योग, युनानी, सिद्ध तथा सोवा रिग्पा जस्ता भारतीय परम्परागत चिकित्सा प्रणाली र ज्ञानको संरक्षण गर्नु तथा तिनमाथि अनुचित रूपमा पेटेन्ट प्रदान हुनबाट रोक्नु हो।
यस डाटाबेसमा ५ लाख २० हजारभन्दा बढ़ी परम्परागत उपचार विधि तथा नुस्खाहरू अभिलेखित छन्। यी सामग्री अंग्रेजी, जर्मन, फ्रान्सेली, जापानी र स्पेनी लगायत विभिन्न भाषाहरूमा पनि उपलब्ध गराइएको छ, जसले विश्वभरिका पेटेन्ट परीक्षकहरूलाई ती जानकारी सजिलै बुझ्न सहयोग पुर्याउँछ।
हिन्दुस्थान समाचार / भवानी थामी