
नयाँ दिल्ली, १० जुलाई (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णनले ‘वन्दे मातरम्’ले मातृभूमिप्रतिको प्रेमलाई पवित्र राष्ट्रिय कर्तव्यमा रूपान्तरण गरेको तथा स्वतन्त्रता सङ्ग्रामका क्रममा असंख्य स्वतन्त्रता सेनानीहरूलाई साहस, त्याग र आशाबाट प्रेरित गरेको बताएका छन्। उनले सरदार वल्लभ भाई पटेलले केवल रियासतहरूको मात्र नभई देशवासीहरूको हृदयको पनि एकीकरण गरी ‘एक राष्ट्र, एक संविधान’ तथा साझा राष्ट्रिय भविष्यको बलियो आधार निर्माण गरेको उल्लेख गरे।
उपराष्ट्रपतिले शुक्रवार (आईआईएएस), शिमलाद्वारा आयोजित ‘वन्दे मातरम् को यात्रा’ विषयक स्थायी प्रदर्शनीको उद्घाटन तथा ‘सरदार पटेलको दृष्टिकोण : एकीकरण, एकता र संघीयता’ विषयमा आयोजित अन्तरराष्ट्रिय संगोष्ठीको उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन्।
उनले ‘वन्दे मातरम्’ केवल एउटा गीत नभई भारतको स्वतन्त्र चेतनाको प्रतीक भएको बताए। यसले देशभक्तिको भावनालाई जन-जनसम्म पुर्याएको र स्वतन्त्रता आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गरेको उनको भनाइ थियो। आज पनि यो गीत राष्ट्रप्रतिको समर्पण, आत्मगौरव र राष्ट्रिय एकताको प्रेरणाको स्रोत रहेको उनले बताए।
सरदार वल्लभभाई पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपतिले पटेलले देशका विभिन्न रियासतहरूको सफल एकीकरण गरी आधुनिक भारतको राजनीतिक तथा प्रशासनिक एकता साकार पारेको उल्लेख गरे। उनको दूरदर्शी नेतृत्वले भारतलाई एक सशक्त र संगठित राष्ट्रका रूपमा स्थापित गर्न निर्णायक भूमिका खेलेको उनले बताए।
उपराष्ट्रपतिले साँचो देशभक्ति केवल शब्दमा सीमित नहुने, बरु इमान्दारिता, उत्कृष्ट कार्यसंस्कृति तथा राष्ट्रिय एकताप्रतिको समर्पणका रूपमा दैनिक व्यवहारमा देखिनुपर्ने धारणा व्यक्त गरे। उनले नागरिकहरूलाई ‘वन्दे मातरम्’को शाश्वत सन्देश तथा सरदार पटेलका राष्ट्रनिर्माण सम्बन्धी आदर्शलाई आत्मसात् गर्दै एकताबद्ध, आत्मविश्वासी र समावेशी भारत निर्माणका लागि आफ्नो प्रतिबद्धता अझ् सुदृढ़ बनाउन आह्वान गरे।
यस अवसरमा भारतीय उच्च अध्ययन संस्थानद्वारा ‘वन्दे मातरम् को यात्रा’ विषयक स्थायी प्रदर्शनीको उद्घाटन गरियो। साथै, सरदार पटेलको राष्ट्र एकता, एकीकरण तथा भारतीय संघीय व्यवस्था सम्बन्धी दृष्टिकोणमा केन्द्रित अन्तरराष्ट्रिय संगोष्ठीको पनि शुभारम्भ गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी