
अकल्याण्ड, 11 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भारत र न्युजिल्यान्डले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा पुर्याउने ऐतिहासिक निर्णय गरेको बताएका छन्। उनले दुवै देशबीच रेकर्ड समयमा सम्पन्न मुक्त व्यापार सम्झौता (एफटीए) ले उद्योग, किसान तथा युवाका लागि नयाँ अवसर सिर्जना गर्ने र आगामी पाँच वर्षमा द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने बलियो आधार तयार गर्ने बताए।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आयोजना गरेको राजकीय भोजमा सहभागी भएपछि प्रधानमन्त्री मोदीले करिब ४० वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीको न्युजिल्यान्डको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ अध्यायको शुरुआत गरेको बताए। उनले न्यानो स्वागत र आतिथ्यका लागि प्रधानमन्त्री लक्सनप्रति आभार व्यक्त गर्दै स्वागतको आत्मीयताले अकल्याण्डको चिसो मौसमसमेत कम महसुस भएको बताए।
प्रधानमन्त्री मोदीले लोकतान्त्रिक मूल्यप्रतिको साझा विश्वासले भारत र न्युजिल्यान्डलाई स्वाभाविक साझेदार बनाएको उल्लेख गर्दै पछिल्ला केही वर्षमा द्विपक्षीय सम्बन्धले नयाँ गति लिएको र अब त्यसलाई स्पष्ट लक्ष्य तथा व्यावहारिक सहकार्यमार्फत अझ अघि बढाइने बताए।
उनले विगत तीन वर्षमा दुवै देशबीचको व्यापार ५० प्रतिशतभन्दा बढी वृद्धि भएको जानकारी दिँदै यस वर्ष रेकर्ड समयमा सम्पन्न एफटीएले व्यापार, लगानी, कृषि, डेरी, खाद्य प्रशोधन तथा युवाका लागि नयाँ अवसर सिर्जना गर्ने र आगामी पाँच वर्षमा व्यापारलाई दोब्बर बनाउन सहयोग पुर्याउने बताए।
प्रधानमन्त्रीले भारत र न्युजिल्यान्ड केवल व्यापारिक साझेदार मात्र नभई प्रविधि, नवप्रवर्तन र विश्वासका आधारमा पनि बलियो सम्बन्ध निर्माण गरिरहेको बताए। फिनटेक क्षेत्रमा भारतको यूपीआई र न्युजिल्यान्डको भुक्तानी प्रणालीलाई जोड्ने दिशामा काम गरिने जानकारी दिँदै कृषि, डेरी तथा खाद्य प्रशोधन क्षेत्रमा पनि व्यापक सहकार्यको खाका तयार गरिएको बताए, जसबाट किसान र पशुपालक लाभान्वित हुनेछन्।
उनले परम्परागत चिकित्साको क्षेत्रमा दुवै देशको समृद्ध परम्परालाई ध्यानमा राख्दै स्वास्थ्य सहकार्यमा यसको भूमिका विस्तार गर्ने सहमति भएको बताए। साथै, हिन्द-प्रशान्त क्षेत्रमा समुद्री सहयोगका लागि रूपरेखा तयार गरिएको र त्यसअन्तर्गत नौसैनिक अभ्यास, लजिस्टिक सहयोग तथा हाइड्रोग्राफी क्षेत्रमा सहकार्य विस्तार गरिने जानकारी दिए।
प्रधानमन्त्री मोदीले दुवै देशबीच हस्ताक्षर भएको सांस्कृतिक सहयोग सम्झौताले कला, संस्कृति, सम्पदा तथा सिर्जनात्मक उद्योगबीचको आदान-प्रदानलाई नयाँ गति दिने बताए। उनले न्युजिल्यान्डका विश्वविद्यालयहरूलाई भारतमा आफ्ना शैक्षिक क्याम्पस स्थापना गर्न पनि आमन्त्रण गरे।
उनले यस वर्ष भारत र न्युजिल्यान्डले खेलकुद सम्बन्धको १००औँ वार्षिकोत्सव मनाइरहेको उल्लेख गर्दै मेजर ध्यानचन्दको नेतृत्वमा भारतीय हक्की टोलीले एक शताब्दीअघि रचेको ऐतिहासिक उपलब्धिको स्मरणमा दुवै देशमा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरिने बताए। क्रिकेटबाहेक अन्य खेलमा पनि सहकार्य विस्तार गर्न संयुक्त खेल कार्ययोजना अपनाइएको उनले जानकारी दिए।
प्रधानमन्त्री मोदीले विश्व मञ्चमा भारत र न्युजिल्यान्ड भरोसायोग्य साझेदार रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघसहित विश्वव्यापी संस्थाहरूमा सुधार समयको आवश्यकता भएको बताए। साथै, आतंकवादविरुद्धको सहकार्यलाई अझ सुदृढ बनाउन संयुक्त कार्य समूह गठन गर्ने सहमति भएको जानकारी दिँदै हिन्द-प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र सुरक्षाको सुनिश्चितताका लागि भारत-न्युजिल्यान्ड सहकार्य अत्यन्त महत्वपूर्ण रहने बताए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी