
नयाँ दिल्ली, ११ जुलाई (हि.स.)। भारत र न्युजिल्यान्डले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारी को स्तरमा स्तरोन्नति गर्ने घोषणा गरेका छन्। दुवै देशले २०३० सम्म द्विपक्षीय व्यापारलाई ७ अरब न्युजिल्यान्ड डलर (करिब ३५ हजार करोड़ भारतीय रुपियाँ) पुर्याउने लक्ष्य निर्धारण गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अकल्याण्डमा आयोजित शिखर वार्ताका क्रममा आफ्ना समकक्ष क्रिस्टोफर लक्सनसँग मिलेर ‘रोडम्याप टु २०३०’ लाई अनुमोदन गरेका हुन्। भारतको विदेश मन्त्रालयका अनुसार, यो कार्ययोजनाले आगामी चार वर्षमा द्विपक्षीय सहयोगलाई नयाँ दिशा दिने तथा साझेदारीलाई अझ सुदृढ़ बनाउने आधार तयार गर्नेछ।
वार्तापछि दुवै देशका प्रधानमन्त्रीहरूले विभिन्न समझदारीपत्र (एमओयू) आदान-प्रदानको साक्षी बने। त्यसपछि भारतको विदेश मन्त्रालयले भएका सम्झौता तथा घोषणाबारे जानकारी दिएको थियो।
मन्त्रालयका अनुसार, दुवै देशबीच समुद्री सुरक्षा सहयोगलाई थप सुदृढ़ बनाउन समुद्री सुरक्षा संवाद शुरु गरिनेछ। न्युजिल्यान्ड इन्डो-प्यासिफिक ओसन्स इनिसिएटिभको समुद्री सुरक्षा स्तम्भमा सहभागी हुनेछ। साथै, न्युजिल्यान्ड ग्लोबल बायोफ्युल्स एलायन्स मा पनि आबद्ध हुनेछ।
कृषि सहयोगअन्तर्गत किवीफ्रुट कार्ययोजना लागू गरिनेछ तथा भारतका नागाल्यान्ड र उत्तराखण्डमा किवी फलका दुई उत्कृष्टता केन्द्र स्थापना गरिनेछन्।
यसका अतिरिक्त, गोवास्थित राष्ट्रिय ध्रुवीय तथा समुद्री अनुसन्धान केन्द्र (एनसीपीओआर) र क्यान्टरबरी विश्वविद्यालयबीच अन्टार्कटिका अनुसन्धानमा सहकार्य गर्ने तथा निफ्टेम-कुण्डली र म्यासी विश्वविद्यालयबीच खाद्य प्रविधि, अनुसन्धान, विद्यार्थी आदान-प्रदान र शैक्षिक सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
आज सम्पन्न उच्चस्तरीय वार्ताका क्रममा दुवै देशबीच कुल १८ वटा सम्झौता तथा समझदारी भएका छन्। तीमध्ये रक्षा तथा समुद्री सुरक्षासम्बन्धी चार प्रमुख सम्झौतामा समुद्री सहयोग, हाइड्रोग्राफी र नौटिकल कार्टोग्राफी, भारतीय नौसेना र न्युजिल्यान्ड रक्षा बलबीच पारस्परिक लजिस्टिक सहयोग तथा आतङ्कवादविरुद्धको संयुक्त कार्यदल गठन समावेश छन्।
यसका साथै आपदा प्रबन्धन, पशुपालन तथा दुग्ध विकास, पर्यटन र सांस्कृतिक सहयोगका क्षेत्रमा पनि छुट्टाछुट्टै सम्झौता भएका छन्। खेलकुद क्षेत्रमा भारत-न्युजिल्यान्ड संयुक्त कार्ययोजना अपनाइएको छ।
यसबाहेक, गुजरातको लोथलस्थित राष्ट्रिय समुद्री सम्पदा परिसरको विकासका लागि न्युजिल्यान्ड मेरिटाइम म्युजियमसँग सहकार्य गर्ने व्यवस्था गरिएको छ। साथै, कला, सम्पदा र सांस्कृतिक गतिविधिहरूको आदान-प्रदानमार्फत दुवै देशबीच सांस्कृतिक सहयोगलाई थप विस्तार गर्ने सहमति पनि भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी