परमवीर चक्र विजेता सेकेन्ड लेफ्टिनेन्ट राम राघोबा राणेको पुण्यतिथिमा राष्ट्रद्वारा श्रद्धाञ्जली, नेताहरूले गरे भावपूर्ण स्मरण
सेकेन्ड लेफ्टिनेन्ट राम राघोबा राणे


नयाँ दिल्ली, 11 जुलाई (हि.स.)। परमवीर चक्रबाट सम्मानित सेकेन्ड लेफ्टिनेन्ट राम राघोबा राणेको पुण्यतिथिका अवसरमा शनिबार देशभर श्रद्धापूर्वक उनको स्मरण गरिएको छ। लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र केन्द्रिय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान लगायतका नेताहरूले उनको अद्वितीय साहस, वीरता तथा राष्ट्रप्रतिको समर्पणलाई नमन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले सामाजिक सञ्जाल एक्स मार्फत दिएको सन्देशमा सन् १९४७-४८ को भारत-पाकिस्तान युद्धका क्रममा सेकेन्ड लेफ्टिनेन्ट राम राघोबा राणेले अदम्य साहस र असाधारण नेतृत्व प्रदर्शन गरेको उल्लेख गरेका छन्। उनले शत्रुपक्षको भीषण गोलाबारी र अनेकौं अवरोधका बीच पनि आफ्ना सहकर्मी सैनिकका लागि निरन्तर बाटो खुला गर्दै भारतीय सेनाको अग्रसरतालाई सुनिश्चित गरेको बिरलाले बताएका छन्।

बिर्लाका अनुसार, कठिन परिस्थितिमा पनि कर्तव्यप्रतिको राणेको अटल समर्पण र वीरताले सैन्य अभियानको सफलतामा महत्वपूर्ण भूमिका खेलेको थियो। उनले राणेको शौर्य भारतीय सशस्त्र बलको इतिहासमा स्वर्णिम तथा प्रेरणादायी अध्यायका रूपमा सदैव स्मरणीय रहने बताए।

केन्द्रिय मन्त्री नितिन गडकरीले पनि सेकेन्ड लेफ्टिनेन्ट राणेलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्र उनको सर्वोच्च बलिदान, अदम्य साहस र अतुलनीय देशभक्तिप्रति सधैं ऋणी रहने बताए। उनका अनुसार, राणेको जीवन प्रत्येक भारतीयका लागि प्रेरणाको स्रोत हो।

त्यसैगरी, केन्द्रिय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सन् १९४७-४८ को भारत-पाक युद्धमा आफ्नो अद्वितीय शौर्य र पराक्रमद्वारा शत्रु सेनालाई पराजित गरेका परमवीर चक्र विजेता सेकेन्ड लेफ्टिनेन्ट राम राघोबा राणेको गौरवगाथाले भावी पुस्तालाई राष्ट्रसेवा, साहस र कर्तव्यनिष्ठाका लागि सधैं प्रेरित गरिरहने बताएका छन्। उनले यस्ता वीर सपूतहरूको बलिदान र पराक्रमकै कारण देश सुरक्षित र गौरवान्वित रहेको उल्लेख गरेका छन्।

उल्लेखनीय छ, सेकेन्ड लेफ्टिनेन्ट राम राघोबा राणे भारतीय सेनाको कोर्प्स अफ इन्जिनियर्स का अधिकारी थिए। सन् १९४७-४८ को भारत-पाकिस्तान युद्धका क्रममा उनले शत्रुको गोलाबारीबीच बारुदी सुरुङ तथा सडक अवरोध हटाई भारतीय सेनाका ट्याङ्क र सैनिकहरूको अग्रसरताका लागि मार्ग खुल्ला गरेका थिए। उनको असाधारण साहस, वीरता र कर्तव्यनिष्ठाको सम्मानस्वरूप उनलाई देशको सर्वोच्च सैनिक वीरता सम्मान 'परमवीर चक्र' प्रदान गरिएको थियो। आज पनि उनको जीवन र वीरता भारतीय सेना तथा सम्पूर्ण देशवासीका लागि प्रेरणाको अमिट स्रोत बनेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande