
लखनउ, १३ जुलाई (हि.स.)। संयुक्त संसदीय समिति (जेपीसी) दुईदिने भ्रमणका क्रममा लखनउ पुगेको छ। समितिले सोमवार र मंगलवार विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्व तथा विज्ञहरूसँग ‘एक राष्ट्र–एक निर्वाचन’ विषयमा विस्तृत छलफल गर्नेछ।
पूर्व केन्द्रिय मन्त्री तथा लोकसभा सांसद अनुराग ठाकुरले सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त संसदीय समिति ‘वन नेशन, वन इलेक्सन’ विषयमा उत्तर प्रदेश भ्रमणमा रहेको जानकारी दिए।
उनी अनुसार, आज समितिले उत्तर प्रदेशका मुख्य सचिव, पुलिस महानिदेशक, मुख्य निर्वाचन अधिकारी लगायत वरिष्ठ सरकारी अधिकारीहरूसँग बैठक गर्नेछ। साथै बैंकका अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि, बार काउन्सिलका पदाधिकारी तथा वरिष्ठ वकीलहरूसँग पनि छलफल हुनेछ। सबै बैठकहरू साँझ ७ बजीसम्म सञ्चालन हुने बताइएको छ।
अनुराग ठाकुरले मंगलवार बिहानदेखि राजनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग समितिको बैठक हुने जानकारी दिए। यस क्रममा निर्वाचित जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भेटघाट गरी ‘एक राष्ट्र–एक निर्वाचन’ सम्बन्धी उनीहरूको धारणा बुझ्ने प्रयास गरिनेछ।
उनले भने, यदि लोकसभा र राज्य विधानसभाका निर्वाचन एकै समयमा सम्पन्न गरिएमा त्यसले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पार्नसक्छ। हाल वर्षभरि कुनै न कुनै राज्य वा राष्ट्रिय निर्वाचन भइरहने भएकाले आचार संहिता बारम्बार लागू हुने अवस्था रहन्छ। कहिले विधानसभा, कहिले लोकसभा र कहिले कुनै राज्यको निर्वाचन भइरहने अवस्थाबाट मुक्ति पाउन सकिने उनको भनाइ थियो।
उनले विभिन्न राजनीतिक दलहरूको यस विषयमा के धारणा छ भन्ने बुझ्न समितिले व्यापक परामर्श गरिरहेको पनि बताए।
हिन्दुस्थान समाचार / भवानी थामी