
इस्लामाबाद, १५ जुलाई (हि.स.)। पाकिस्तानको पञ्जाब प्रान्तअन्तर्गत शेखूपुरा जिल्लाको नारङ मण्डी क्षेत्रमा मंगलबार राति दुई बस एकापसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। दुर्घटना सिधनवाली स्टप नजिकैको काला खटाई सडकमा भएको हो।
दुनिया न्यूजका अनुसार, लाहौरबाट शकरगढतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई जोगाउने प्रयास गर्दा विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किएको थियो। ठक्करपछि दुवै बस सडकबाट पल्टिँदै नजिकैको खेतमा खसेका थिए।
दुर्घटनामा पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने २५ जना घाइते भएका छन्।
घटनाको जानकारी पाएलगत्तै पुलिस र उद्धार टोली घटनास्थलमा पुगेर मृतक तथा घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याए। उद्धारकर्मीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि लाहौर पठाइएको छ।
हिन्दुस्थान समाचार / बिशाल