
वासिङ्टन/तेहरान, १५ जुलाई (हि.स.)। अमेरिकाले इरानका प्रमुख बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी शुरु गरेको घोषणा गरेको छ। अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) का अनुसार २० भन्दा बढी युद्धपोत र सयौँ सैन्य विमान परिचालन गरी इरानी बन्दरगाह तथा तटीय क्षेत्र हुँदै आवतजावत गर्ने जहाजहरूको कडा निगरानी भइरहेको छ।
सेन्टकमले स्थानीय समयअनुसार मंगलबार सामाजिक सञ्जाल एक्समार्फत नाकाबन्दी पुनः लागू गरिएको जानकारी दिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै गुड्ने मालवाहक जहाजमा २० प्रतिशत टोल लगाउने प्रस्ताव फिर्ता लिएका छन्। त्यसको सट्टा खाडी मुलुकहरूसँग व्यापार तथा लगानी सम्झौतालाई प्राथमिकता दिने निर्णय गरिएको जनाइएको छ।
अल जजिरा र सीबीएस न्यूजका अनुसार, इरानले पनि होर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजबाट शुल्क असुल्ने सम्भावनालाई अस्वीकार गरेको छैन। साथै अनुमति बिना यो जलमार्ग प्रयोग गर्ने जहाजलाई चेताउनीसमेत दिएको छ। पछिल्ला दुई दिनयता बढ्दो तनाउका कारण अन्तरराष्ट्रिय बजारमा काँचो तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
सेन्टकमका अनुसार, हाल मध्यपूर्व क्षेत्रमा अमेरिकी नौसेनाका २० भन्दा बढी युद्धपोत र सयौँ सैन्य विमान तैनाथ छन्। सेन्टकमले स्थानीय समयअनुसार साँझ ४ बजी (पूर्वी समय) इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः लागू गरिएको जनाएको छ। यस अवधिमा अमेरिकी सेनाले इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले आफ्नो अभियानलाई निरन्तरता दिएको बताएको छ। यसअघि पनि सेन्टकमले अमेरिकी सेनाले इरानविरुद्ध अर्को चरणको सैन्य आक्रमण शुरु गरेको घोषणा गरेको थियो। सेन्टकमले अर्को पोस्टमा उल्लेख गर्दै स्थानीय समयअनुसार दिउँसो ३ बजी अमेरिकी सेनाले इरानमाथि नयाँ चरणको आक्रमण शुरु गरेको जनाएको छ।
वासिङ्टन-तेहरानबीच तनाउ चुलिँदै
अमेरिकी सेनाले ती आक्रमणका लक्ष्य वा स्थानबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। समुद्री सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि भइरहेका आक्रमणलाई लिएर वासिङ्टन र तेहरानबीच बढ्दो तनाउकै बीच यो घटनाक्रम भएको हो।
यसअघि सेन्टकमले जुलाई १३ को राति १०:१५ बजी (पूर्वी समय) इरानको सैन्य संरचनामाथि अर्को योजनाबद्ध आक्रमण सम्पन्न भएको जनाएको थियो। करिब पाँच घण्टा चलेको उक्त अभियानमा इरानको दक्षिणी तटस्थित बुशेहर, चाबहार, जास्क, कोनारक, अबु मुसा र बन्दर अब्बासका महत्वपूर्ण सैन्य अड्डाहरूलाई निशाना बनाइएको थियो। इरानको तटीय रक्षा प्रणाली, मिसाइल प्रक्षेपण पूर्वाधार, ड्रोन अड्डा तथा नौसैनिक क्षमतालाई निष्क्रिय पार्न उच्च सटीकतायुक्त हतियार प्रयोग गरिएको सेन्टकमले जनाएको छ।
अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अपरेसन नसर २ को तेस्रो चरणअन्तर्गत बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरेको जनाएको छ।
यता अमेरिकाले मंगलबार इरानी शिपिङ व्यवसायी मोहम्मद हुसेन शामखानीसँग कथित रूपमा सम्बन्धित दर्जनौँ व्यक्ति, कम्पनी तथा जहाजमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार, इरानका एक वरिष्ठ सुरक्षा अधिकारीका छोरा शामखानी इरान र रुसको तेल ढुवानी गर्ने ठूलो शिपिङ सञ्जालका प्रमुख हुन्। अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले प्रतिबन्धको पुष्टि गरेका छन्।
आक्रमणका बीच इरानको बन्दर अब्बास र सिरिक क्षेत्रमा विस्फोटको आवाज सुनिएको छ। यी दुवै स्थान होर्मुज जलडमरूमध्यको किनारमा रहेका कारण अमेरिकी अभियानका क्रममा बारम्बार निशानामा पर्ने गरेका छन्।
कुवेतले इरानबाट प्रहार गरिएका दर्जनौँ ड्रोन र मिसाइल अवरोध गरेको जनाएको छ। इरानी आक्रमणमा कुवेती युद्धपोतमा क्षति पुग्नुका साथै चार सैनिक घाइते भएका छन्। कुवेती सेनाका अनुसार, मंगलबार साँझ ३३ वटा ड्रोन, पाँच वटा क्रुज मिसाइल र एउटा ब्यालिस्टिक मिसाइल सफलतापूर्वक खसालिएको थियो।
इरानको फार्स समाचार एजेन्सीका अनुसार, इराकको सीमावर्ती इलाम प्रान्तस्थित देहलोरान शहरमा अमेरिकी प्रोजेक्टाइल खसेको छ। सम्भावित क्षतिको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
यता सेन्टकमले इरानले क्षेत्रभरका नागरिक तथा व्यावसायिक जहाजहरूलाई लक्षित गरेको आरोप लगाएको छ। सेन्टकमका कमाण्डर एडमिरल ब्रेड कुपरका अनुसार, इरानी आक्रमणमा करिब एक दर्जन सर्वसाधारण र चालक दलका सदस्यको मृत्यु भएको छ। साथै इरानले छिमेकी खाडी राष्ट्रतर्फ दर्जनौँ मिसाइल र ड्रोन प्रहार गरेको पनि उनले दाबी गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल