भारत र नेपालबीच जलविद्युत, विद्युत व्यापार तथा ट्रान्समिसन परियोजनाको समीक्षा
नेपाल भारत के बीच ऊर्जा सचिव स्तरीय बैठक


काठमाडौं, १६ जुलाई (हि.स.)। ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ़ बनाउने उद्देश्यले पोखरामा भारत-नेपाल संयुक्त सञ्चालन समिति (जेएससी) को १३औँ बैठक सम्पन्न भएको छ। बैठकको सह-अध्यक्षता भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले गरेका थिए।

यसअघि पोखरामै भारत-नेपाल संयुक्त कार्य समूह (जेडब्ल्यूजी) को १३औँ बैठक पनि सम्पन्न भएको थियो। उक्त बैठकको सह-अध्यक्षता भारतको विद्युत मन्त्रालयका संयुक्त सचिव (ट्रान्समिसन) पंकज कुमार र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका संयुक्त सचिव सन्दीप कुमार देवले गरेका थिए।

काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, बैठकहरूमा भारत-नेपाल ऊर्जा सहकार्यको समग्र प्रगतिबारे समीक्षा गरियो। छलफलका क्रममा जलविद्युत आयोजना विकास, सीमापार विद्युत व्यापार तथा विद्युत प्रसारण (ट्रान्समिसन) पूर्वाधारसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत विचार-विमर्श भयो।

दुवै पक्षले ४०० केभी गोरखपुर-न्यु बुटवल प्रसारण लाइनसहित नयाँ प्रसारण लाइन निर्माणमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन्। साथै, सञ्चालनमा रहेका तथा प्रस्तावित विद्युत उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्र र सहज बनाउने उपायबारे पनि छलफल भएको छ।

बैठकमा भारतीय र नेपाली विद्युत ग्रिडको समन्वित सञ्चालन, सौर्य ऊर्जा आयोजनाको विकास, हरित हाइड्रोजन क्षेत्रमा सहकार्य तथा नेपाली ऊर्जा विज्ञहरूको क्षमता अभिवृद्धिलगायत विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो।

संयुक्त सञ्चालन समिति बैठकअघि जुलाई १४ मा भारतका विद्युत सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग शिष्टाचार भेट गरी ऊर्जा सहकार्यका विभिन्न पक्षबारे छलफल गरेका थिए।

दुवै देशले संयुक्त सञ्चालन समितिको बैठकबाट भएका निष्कर्षले भारत-नेपाल ऊर्जा सहकार्यलाई अझ सुदृढ़ बनाउनुका साथै भविष्यका साझा ऊर्जा आयोजनालाई गति दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande