
पेरिस/कराची, १8 जुलाई (हि.स.)। फ्रान्सले पाकिस्तानको कराचीस्थित आफ्नो वाणिज्य दूतावास (कन्सुलेट) स्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो कदम बजेट कटौती तथा विश्वभर फैलिएको आफ्नो कूटनीतिक सञ्जाललाई सानो बनाउने नीतिअन्तर्गत चालिएको हो।
कराचीस्थित फ्रान्सका महावाणिज्यदूत एलेक्सिस शहताहतिंस्कीले दूतावास बन्द गरिने निर्णयको पुष्टि गर्दै यसले पाकिस्तान र फ्रान्सबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्धमा कुनै असर नपर्ने बताएका छन्। उनका अनुसार, अब सबै कूटनीतिक तथा कन्सुलर सेवाहरू इस्लामाबादस्थित फ्रान्सेली दूतावासमार्फत सञ्चालन गरिनेछ।
उनले कराचीस्थित अलायन्स फ्राँसेज (फ्रान्सेली सांस्कृतिक केन्द्र) र पाकिस्तान-फ्रान्स बिजनेस अलायन्सले आफ्ना गतिविधिहरू पहिलेझैं निरन्तर सञ्चालन गर्ने पनि स्पष्ट पारे। यसबाट सांस्कृतिक आदान-प्रदान, शैक्षिक सहकार्य तथा व्यापारिक सम्पर्कमा कुनै प्रभाव नपर्ने जनाइएको छ।
फ्रान्सले पछिल्ला केही वर्षयता आफ्नो विश्वव्यापी कूटनीतिक संरचनाको समीक्षा गर्दै आएको छ। खर्च कटौती गर्ने उद्देश्यले उसले विभिन्न देशहरूमा रहेका आफ्ना कन्सुलर सञ्जालहरूको पुनर्संरचना गरिरहेको छ। कराचीस्थित वाणिज्य दूतावास बन्द गर्ने निर्णय पनि यही व्यापक रणनीतिको एक हिस्सा मानिएको छ।
हिन्दुस्थान समाचार / बिशाल