
काठमाडौं, 17 जुलाई (हि.स.)। बालेन्द्र शाह सरकारले एक रुपियाँको सिक्कामा रहेको विवादित नेपालको नक्सा हटाएर त्यसको सट्टा मुस्ताङस्थित ऐतिहासिक लो ग्याकर गुम्बाको आकृति राख्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र ब्याङ्कलाई एक र दुई रुपियाँका नयाँ सिक्का टकसालमा ढाल्न स्वीकृति दिएको छ। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार, नयाँ सिक्काको आकार, तौल, धातु तथा डिजाइनमा परिवर्तन गरिनेछ।
यसै क्रममा एक रुपियाँको सिक्कामा रहेको नेपालको नक्सा हटाई आठौँ शताब्दीको ऐतिहासिक सम्पदा मानिने लो ग्याकर गुम्बाको चित्र अंकित गर्ने निर्णय गरिएको हो। सरकारी अधिकारीहरूले सिक्काको आकार सानो भएकाले त्यसमा नेपालको नक्सा स्पष्ट रूपमा देखाउन कठिन हुने तर्क दिएका छन्।
एक रुपियाँको सिक्कामा विवादित नक्सा राख्ने निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो। अहिलेको सरकारले उक्त नक्सा हटाउने निर्णय गरेसँगै भारतसँगको सम्बन्धलाई अझ सुदृढ़ बनाउने संकेतका रूपमा यसलाई हेरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल