भारतमा उच्च शिक्षा अध्ययन गर्ने विदेशी छात्रहरूमा सबैभन्दा धेरै नेपाली छात्र
भारत में पढ़ने वाले विदेशी छात्रों का डाटा


काठमाडौं, १६ जुलाई (हि.स.)। भारतमा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीमध्ये सबैभन्दा ठूलो संख्या नेपाली विद्यार्थीहरूको रहेको छ। भौगोलिक निकटताका कारण ठूलो संख्यामा नेपाली विद्यार्थी भारत जानु स्वाभाविक भए पनि यही मात्र कारण नभएको विज्ञहरूले बताएका छन्। भारतमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये ७३.६ प्रतिशत स्नातक तहमा र १६.८ प्रतिशत स्नातकोत्तर तहमा अध्ययनरत छन्।

भारतको शिक्षा मन्त्रालयले सार्वजनिक गरेको भारतीय उच्च शिक्षा सर्वेक्षण (२०२३-२४) अनुसार, भारतमा हाल ५८ हजार १३४ विदेशी विद्यार्थी अध्ययनरत छन्, जसमा २४.१ प्रतिशत नेपाली विद्यार्थी रहेका छन्। सर्वेक्षणअनुसार, भारतमा १७३ देशका विद्यार्थी अध्ययन गरिरहेका छन्, तर तीमध्ये सबैभन्दा ठूलो हिस्सा नेपालका विद्यार्थीहरूको रहेको छ।

नेपालपछि भारतमा अध्ययन गर्ने विदेशी विद्यार्थीमध्ये संयुक्त अरब इमिरेट्सका ७ प्रतिशत, अमेरिकाका ५.९ प्रतिशत, बङ्गलादेशका ५.९ प्रतिशत, नाइजेरियाका ५.५ प्रतिशत, जिम्बाब्वेका ४ प्रतिशत, भुटानका २.७ प्रतिशत, सुडानका २.२ प्रतिशत तथा ओमानका १.७ प्रतिशत विद्यार्थी रहेका छन्।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार, भारत नजिक हुनु, तुलनात्मक रूपमा अध्ययन खर्च कम हुनु तथा नेपालभन्दा गुणस्तरीय विश्वविद्यालयहरू उपलब्ध भएकाले नेपाली विद्यार्थीले भारतलाई प्राथमिकता दिने गरेका छन्। भारत जान नेपाली विद्यार्थीलाई भिसा आवश्यक नपर्ने भएकाले पनि त्यहाँ अध्ययनका लागि जान सहज हुने उनले बताए। साथै भारतीय विश्वविद्यालयहरूले शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयन गर्दै समयमै कक्षा सञ्चालन, परीक्षा तथा नतिजा प्रकाशन गर्ने भएकाले पनि विद्यार्थी आकर्षित हुने गरेको उनको भनाइ छ।

नेपाल विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा. डा. देवराज अधिकारीले पनि भारत छिमेकी मुलुक भएकाले आवतजावत सहज र अध्ययन खर्च अधिकांश विद्यार्थीको पहुँचमा रहेको बताए। उनका अनुसार, भारतीय विश्वविद्यालयहरूको गुणस्तरप्रति विद्यार्थीको विश्वास निरन्तर बढिरहेको छ। नेपालमा शैक्षिक पात्रो प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा विद्यार्थी विदेश जान बाध्य हुने अवस्था रहेको उनले बताए।

उनका अनुसार, नेपालमा कक्षा १२ को नतिजा छिट्टै प्रकाशित भए पनि स्नातक तहको अध्ययन समयमै शुरु हुन सक्दैन, जबकि भारतमा विद्यार्थीले निर्धारित समयमा अध्ययन पूरा गर्न सक्छन्। साथै भारतमा स्नातक तहको पाठ्यक्रम सामान्यतया तीन वर्षको हुने, नेपालमा चार वर्षको हुने भएकाले पनि धेरै विद्यार्थीले भारत रोज्ने गरेका छन्।

शैक्षिक परामर्श संघका पूर्व अध्यक्ष प्रकाश पाण्डेले नेपाल र भारतको जीवनशैली, खानपान तथा संस्कृति धेरै हदसम्म समान रहेको र दुवै देशमा अध्ययन तथा बसोबासको खर्च पनि लगभग बराबर हुने बताए। उनका अनुसार अधिकांश नेपाली विद्यार्थी केवल अध्ययनका लागि भारत जाने गर्छन्, जबकि अन्य देश जाने विद्यार्थीले अध्ययनसँगै रोजगारीका अवसर पनि खोज्ने गर्छन्।

नेपालको शिक्षा मन्त्रालयका अनुसार, मई २०२४ देखि मार्च २०२६ सम्म भारतमा अध्ययनका लागि १४ हजार ७२० वटा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरिएको छ। तर एनओसी लिने सबै विद्यार्थी भारत जाँदैनन् भने धेरै विद्यार्थी एनओसीबिनै पनि अध्ययनका लागि भारत जाने गरेका छन्। भारत जान अमेरिकी डलर विनिमय गर्नुपर्ने आवश्यकता नपर्ने भएकाले पनि धेरै विद्यार्थीले एनओसी नलिने गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande