
कोलकाता, 17 जुलाई (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा आज भएको रेल दुर्घटनापछि पूर्वी रेलवेले कर्तव्यमा लापरवाही गरेको आरोपमा गेटम्यान र उनको सुपरभाइजरलाई तत्काल प्रभावदेखि निलम्बन गरेको छ। त्यसको केही समयपछि बहरामपुर थाना पुलिसले गेटम्यानलाई पक्राउ गरेको छ। पूर्वी रेलवेले प्रत्येक पीड़ितको परिवारलाई 10 लाख रुपियाँको अनुग्रह सहायता दिने घोषणा गरेको छ। राज्य सरकारले प्रत्येक परिवारलाई 5 लाख रुपियाँ पनि प्रदान गर्नेछ।
पुलिस र स्थानीय बासिन्दा अनुसार, दुर्घटना शुक्रवार बिहान 7.30 बजी कर्णसुबर्ण स्टेशन र गोविन्दपुर बीचको रेलवे लेभल क्रसिङमा भएको थियो। हावड़ा-नवद्वीप एक्सप्रेस गुज्रिसकेपछि गेटम्यानले गेट खोलेको खबर छ। गेट खुला देखेर स्कूले बच्चाहरू बोकेको टाटा सुमोले रेलवे लाइन पार गर्न थाल्यो। यसैबीच तीव्र गतिमा रहेको निम्ता-कटवा लोकल ट्रेनले गाड़ीलाई ठक्कर दियो।
दुर्घटनामा दुई स्कूले केटाकेटीहरूको घटनास्थलमै मृत्यु भयो भने एक युवकको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। अन्य चार जना गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।
पूर्वी रेलवेले अपर डिभिजनल रेलवे प्रबन्धक (एडीआरएम) को नेतृत्वमा 10 सदस्यीय उच्चस्तरीय अनुसन्धान समितिलाई दुर्घटना स्थलमा पठाएको छ।
समितिले दुर्घटनाको कारण र सम्भावित लापरवाहीको विस्तृत अनुसन्धान गर्नेछ। पूर्वी रेलवेका एक वरिष्ठ अधिकारीले रेलवेले आफ्नो शून्य सहनशीलता नीति अन्तर्गत यस विषयमा कारबाही गर्ने बताए। उनले सम्पूर्ण घटनाको निष्पक्ष रूपमा अनुसन्धान गरिने र दोषीहरू विरुद्ध कानून अनुसार कड़ा कारबाही गरिने बताए। घाइतेहरूको उपचारका लागि रेलवे मेडिकल टोली पनि खटाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी