बलको ठूलो कारबाही, लागुऔषध तस्कर, उग्रवादी तथा जबरजस्ती रकम असुल्ने आरोपी पक्राउ
Images Related to the Manipur Operations.


इम्फाल, १९ जुलाई (हि.स.)। मणिपुरमा पछिल्लो २४ घण्टामा सुरक्षा बलहरूले विभिन्न जिल्लाहरूमा निरन्तर अभियान सञ्चालन गर्दै लागुऔषध तस्कर, उग्रवादी तथा जबरजस्ती रकम असुल्ने समूहविरुद्ध ठूलो कारबाही गरेका छन्। यस क्रममा ठूलो परिमाणमा लागुऔषध, हतियार तथा गोलाबारुद पनि बरामद गरिएको छ।

‘वार अन ड्रग्स’ अभियानअन्तर्गत १८ जुलाईमा सुरक्षा बलहरूले खुमान लम्पाक क्षेत्रबाट मोहम्मद युसुब उर्फ काकी उर्फ जाकिर (४१) लाई पक्राउ गरेका छन्। उनको साथबाट करिब ६.२ किलोग्राम क्रिस्टल मेथामफेटामिन (आइस ड्रग्स) का छ वटा प्याकेट तथा एउटा टीभीएस जुपिटर स्कुटर बरामद गरिएको छ।

सोही दिन इम्फाल पूर्व जिल्लाको हेङ्गाङ पुलिस चौकी क्षेत्रबाट युनाइटेड रिभोल्युसनरी फ्रन्ट (यूआरएफ) का सक्रिय उग्रवादी मोहम्मद लेहिमुद्दीन उर्फ याङ्बा (३७) लाई पनि पक्राउ गरिएको छ।

चुराचाँदपुर जिल्लाको थिङकाङ्फाई गाउँमा सुरक्षा बलहरूले एक बोलेरो गाडीको जाँचका क्रममा ब्राउन सुगर भएको आशंका गरिएका ८१ वटा साबुनदानी प्याकेट बरामद गरेका छन्। गाडी चालक मङ्खानथाङ किपगेन (३३) लाई पक्राउ गरिएको छ। उनी राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) अन्तर्गतका लागुऔषधसम्बन्धी विभिन्न मुद्दामा फरार रहेको बताइएको छ।

छ जना नागा व्यक्तिको अपहरण तथा हत्याको घटनाको अनुसन्धानका क्रममा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए), मणिपुर पुलिस तथा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को संयुक्त टोलीले लुङ्गौलाल वैफेई र लुनमिनथाङ सितल्हौ उर्फ ज्याकलाई पक्राउ गरेको छ। घटनासँग सम्बन्धित अन्य आरोपीहरूको खोजी जारी रहेको जनाइएको छ।

काङ्पोकपी जिल्लाको कोटलेनस्थित जिरो प्वाइन्ट क्षेत्रबाट सुरक्षा बलहरूले ठूलो मात्रामा हतियार बरामद गरेका छन्। बरामद सामग्रीमा एक थान .२२ राइफल, १५ थान सिंगल ब्यारेल राइफल, तीन थान ९ एमएम पिस्तोल, एक थान .२२ पिस्तोल, पाँच थान अस्थायी मोर्टार, १०७ थान जिउँदा कारतुस, २०५ थान खाली कारतुस, चार थान मोटोरोला ब्याट्री तथा एक थान पीईके उपकरण रहेका छन्।

१७ जुलाईमा इम्फाल पूर्व जिल्लाबाट केसीपी (सिटी मैतेई) का सक्रिय उग्रवादी तथा कथित रूपमा जबरजस्ती रकम असुल्ने खुन्डोङबाम इथोई सिंह (३२) लाई पक्राउ गरिएको थियो।

त्यसैगरी, चान्देल जिल्लामा भारत-म्यान्मार सीमाक्षेत्र नजिकै केवाईकेएलका सक्रिय उग्रवादी याङ्गाबाम बोइचा मैतेई उर्फ बोइनाओ (२९) लाई एक थान स्वदेशी .२२ पेस्तोल तथा मोटोरोला सञ्चार सेटसहित पक्राउ गरिएको छ।

सुरक्षा बलहरूले राज्यमा उग्रवाद, लागुऔषध तस्करी तथा संगठित अपराधविरुद्धको अभियान आगामी दिनहरूमा पनि निरन्तर जारी रहने बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande