
नयाँ दिल्ली, १८ जुलाई (हि.स.)। देशमा पहिलोपटक निजी कम्पनी स्काईरुट एयरोस्पेसले आज आफ्नो स्वदेशी उपग्रह प्रक्षेपण गर्न लागेको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै टोलीलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्रीले एक्समा लेखेका छन्, “सफल प्रक्षेपणका लागि स्काईरुट एयरोस्पेसको सम्पूर्ण टोलीलाई मेरो शुभकामना। विक्रम-१ ले नयाँ उचाइ हासिल गरोस्। यसले इतिहास रचोस् र नवप्रवर्तनकर्ताहरूको एक पुस्तालाई प्रेरित गरोस्।”
प्रधानमन्त्रीले थप लेखेका छन्, “आज बिहान ११:३० बजी स्काईरुट एयरोस्पेसले भारतमा निजी रूपमा विकसित पहिलो प्रक्षेपण यान ‘विक्रम-१’ को पहिलो कक्षीय (अर्बिटल) प्रक्षेपण गर्नेछ। यो चार चरणयुक्त रकेट छिटो तथा आवश्यकताअनुसार प्रक्षेपण सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको हो। यो अभियानले हाम्रो युवापुस्ताको प्रतिभा, दृढ़ संकल्प र उद्यमशीलताको भावना झल्काउँछ। साथै, यसले अन्तरिक्ष क्षेत्रका सुधारहरूले नवप्रवर्तन र उद्यमका लागि कसरी नयाँ अवसरहरू सिर्जना गरिरहेका छन् भन्ने पनि देखाउँछ।”
उनले सबै भारतीय, विशेषगरी युवाहरूलाई यो ऐतिहासिक अभियान हेर्न र #IndiaWithVikram1 प्रयोग गर्दै स्काईरुट टोलीको सफलताका लागि शुभकामना दिन आग्रह गरेका छन्।
उल्लेखनीय छ, स्काईरुट एयरोस्पेस हैदराबादस्थित कम्पनी हो। कम्पनीले यस अभियानलाई ‘मिशन आगमन विक्रम-१’ नाम दिएको छ। यसको प्रक्षेपण शनिबार बिहान ११:३० बजी श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिने तय गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी