सीजेपीले पेपर लीकको विरोधमा 20 जुलाईमा संसद मार्च गर्ने, अभिजीत दीपकेद्वारा शान्तिपूर्ण प्रदर्शनको आह्वान
सीजेपी प्रमुख अभिजीत दीपके।


नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। परीक्षा प्रश्नपत्र लीक भएको घटनालाई लिएर केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत ककरोच जनता पार्टी (सीजेपी) ले जुलाई २० मा जन्तर-मन्तरदेखि संसदसम्म मार्च गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष अभिजीत दीपकेले समर्थकहरूलाई ठूलो सङ्ख्यामा जन्तर-मन्तरमा उपस्थित हुन आग्रह गर्दै आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण राख्न अपील गरेका छन्।

आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी सन्देशमा दीपकेले सबै समर्थकलाई लोकतान्त्रिक ढङ्गले आफ्नो आवाज उठाउन तथा कुनै पनि प्रकारको अव्यवस्था वा उक्साहटबाट टाढा रहन आग्रह गरे। उनले पार्टीको विरोध प्रदर्शन र संसद मार्च पूर्ण रूपमा शान्तिपूर्ण हुने बताए।

उनले भने, “म सबै समर्थकलाई जन्तर-मन्तरमा उपस्थित हुन अनुरोध गर्दछु। हाम्रो विरोध प्रदर्शन र मार्च पूर्ण रूपमा शान्तिपूर्ण हुनेछ। यदि कसैले कुनै प्रकारको अव्यवस्था सिर्जना गर्छ वा नकारात्मक नाराबाजी गर्छ भने, ऊ न त सोनम सर (सोनाम वाङचुक) का समर्थक हुन्, न त सीजेपीका।”

उल्लेखनीय छ, पर्यावरणविद् सोनाम वाङचुक विगत २० दिनदेखि जन्तर-मन्तरमा अनशनरत थिए। शनिबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि दिल्ली पुलिसले उपचारका लागि उनलाई सफदरजंग अस्पतालमा भर्ना गरेको थियो। त्यसपछि आन्दोलनसँग सम्बन्धित राजनीतिक गतिविधि थप तीव्र बनेको छ।

यसैबीच, दिल्ली पुलिसले सीजेपीको सामाजिक सञ्जाल अभियान तथा प्रस्तावित प्रदर्शनसँग सम्बन्धित केही विषयमा पनि कारबाही गरेको छ। राजधानीमा कानुन-व्यवस्था कायम राख्न सुरक्षा व्यवस्था कडा पारिएको छ र पुलिसले अवस्थामाथि निरन्तर निगरानी गरिरहेको जनाएको छ।

सीजेपीको नेतृत्वमा जन्तर-मन्तरमा जारी आन्दोलनको मुख्य माग परीक्षा प्रश्नपत्र लीक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो। पार्टीका अनुसार, लगातार भइरहेका परीक्षा अनियमितताले लाखौं विद्यार्थीको भविष्य प्रभावित भएको छ र सरकारले यस विषयमा जवाफदेहिता सुनिश्चित गर्न असफल भएको छ।

यही मागलाई लिएर सीजेपीले 20 जुलाईमा जन्तर-मन्तरदेखि संसदसम्म शान्तिपूर्ण र लोकतान्त्रिक ढङ्गले मार्च आयोजना गर्ने जनाएको छ। पार्टीले सबै कार्यकर्ता तथा समर्थकलाई कानुन-व्यवस्था कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande