
जम्मू, 0२ जुलाई (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले अमरनाथ तीर्थयात्राको पहिलो टोलीलाई बिदाई गर्नुअघि पूजा-अर्चना गरे। यस अवसरमा उनले अमरनाथ यात्रा हाम्रो आध्यात्मिक परम्परा, सांस्कृतिक सम्पदा र सामूहिक आस्थाको कालजयी प्रतीक रहेको बताए। उनले यसलाई देशकै सबैभन्दा पवित्र धार्मिक यात्रामध्ये एक भएको उल्लेख गर्दै यससँग देशभरिका लाखौं श्रद्धालुको आस्था जोडिएको जिम्मेवारी पनि रहेको बताए।
उपराज्यपाल सिन्हाले तीर्थयात्राको पवित्रता कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै प्रत्येक श्रद्धालुले यात्रा अवधिभर उच्चस्तरीय सुरक्षा, सम्मान, सुविधा र आवश्यक हेरचाह प्राप्त गर्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
उनले भने, “यस पवित्र अवसरमा म जम्मूलाई आध्यात्मिक पर्यटन, सांस्कृतिक अध्ययन तथा मानवीय मूल्यहरूको विश्वव्यापी केन्द्रका रूपमा विकसित भएको देख्न चाहन्छु। तवी रिभरफ्रन्ट पर्यावरण संरक्षण, दिगो विकास र आधुनिक शहरी योजनाको उत्कृष्ट नमुना बनोस्, जहाँ प्रकृति, संस्कृति र आधुनिक सुविधा एकअर्काका परिपूरक बनेर विकासको नयाँ मोडल प्रस्तुत गरून्।”
सिन्हाले सदियौँदेखि जम्मू आध्यात्मिक चेतना, सांस्कृतिक समृद्धि तथा ज्ञानको केन्द्रका रूपमा परिचित रहेको उल्लेख गरे। प्राचीन मन्दिरहरूले सुशोभित यो भूमि आध्यात्मिक चिन्तन र भारतीय संस्कृतिका उत्कृष्ट मूल्यहरूको प्रतीक रहँदै आएको उनको भनाई थियो। इतिहासमा प्राप्त आफ्नो विशिष्ट पहिचान जम्मूले पुनः प्राप्त गरिरहेको देख्दा खुशी लागेको बताउँदै उनले शहरलाई स्वच्छ, सुन्दर र जीवन्त बनाउन जनसहभागिताको आह्वान गरे।
उपराज्यपालले तवी रिभरफ्रन्ट निर्माण तथा नदीलाई सामुदायिक जीवनको केन्द्रमा पुनःस्थापित गर्न जम्मू स्मार्ट सिटी लिमिटेडले गरेको प्रयासको प्रशंसा गरे। उनले विगतमा उपेक्षित रहेका नदी किनारहरू अहिले संस्कृति, परम्परा, सामाजिक सद्भाव र आध्यात्मिक मूल्यहरूको जीवन्त केन्द्रका रूपमा विकसित भएको उल्लेख गरे।
सिन्हाले नदीको अविरल बग्ने पानीले कुनै भेदभाव नगरी स्वतन्त्र रूपमा बग्ने सन्देश दिन्छ भन्दै मानव जीवन पनि प्रेम, सहकार्य र आपसी सम्मानका आधारमा अघि बढ्नुपर्ने प्रेरणा दिने बताए।
उनले अमरनाथ यात्राको अवधिभर प्रत्येक साँझ तवी नदी किनारमा तवी आरती आयोजना गरिने जानकारी दिँदै भने, “प्रज्वलित प्रत्येक दीपले आशा, पवित्रता, नयाँ शुरुआत र आस्थाको प्रकाश फैलाउनेछ। यसले तीर्थयात्रीहरूको मार्ग मात्र उज्यालो बनाउने होइन, हाम्रो समाजको भावना र एकताको पनि उज्यालो फैलाउनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी