
नयाँ दिल्ली, 0२ जुलाई (हि.स.)। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले अरुणाचल प्रदेश, असम, मेघालय र सिक्किममा आएको भीषण बाढ़ी तथा पहिरोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले यस विपत्तिका कारण धेरै मानिसहरूले ज्यान गुमाएको र हजारौं परिवार विस्थापित भएको बताएका छन्। प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै उनले कांग्रेस पार्टी पीड़ितहरूको साथमा रहेको बताएका छन्।
खरगेले एक्समा लेख्दै एनडीए सरकारहरूका वाचा तथा असमको वर्ष २०१६ को भिजन दस्तावेजमा गरिएको बाढ़ीमुक्त राज्य बनाउने प्रतिबद्धता पूरा हुन नसकेको आरोप लगाए। उनले बाढ़ी प्रत्येक वर्ष दोहोरिने नियमित विपत्ति बनेको उल्लेख गर्दै सरकारको तयारी र दीर्घकालीन समाधानका प्रयास पर्याप्त नभएको बताए।
उनले पीएम केयर्स कोषको तत्काल प्रयोग गरी प्रभावित परिवारहरूलाई पर्याप्त क्षतिपूर्ति, व्यापक पुनर्स्थापना तथा दिगो राहत उपलब्ध गराउन माग गरेका छन्।
खरगेले देशले आफ्ना सशस्त्र सेना, राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) तथा राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ) का टोलीहरूप्रति गर्व गर्ने बताएका छन्, जो निरन्तर उद्धार तथा राहत कार्यमा संलग्न रहेका छन्। तर मानवीय संकटको व्यापकतालाई ध्यानमा राख्दै सरकारले थप संसाधन, आर्थिक सहायता तथा अतिरिक्त जनशक्ति परिचालन गर्नुपर्ने उनको भनाइ छ।
उनले उद्धार कार्यलाई तीव्र बनाउन, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण गर्न तथा कुनै पनि प्रभावित परिवार राहतबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।
साथै खरगेले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढ़ी प्रभावित क्षेत्रहरूमा पुगेर पीड़ितहरूको हरसम्भव सहयोग गर्न अपील गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी