
जम्मू, 0२ जुलाई (हि.स.)। वार्षिक श्री अमरनाथ यात्रा बिहिवार औपचारिक रूपमा शुरु भएको छ। जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले कड़ा सुरक्षा व्यवस्थाबीच जम्मूको भगवती नगर यात्री निवासबाट तीर्थयात्रीहरूको पहिलो टोलीलाई हरियो झण्डा देखाएर यात्राका लागि विदाइ गरे।
अधिकारीहरू अनुसार जम्मूबाट बालटाल र पहलगामका दुई आधार शिविरतर्फ २५९ सवारी साधनको काफिलामा कल ४,८२२ तीर्थयात्री प्रस्थान गरेका छन्।
तीर्थयात्रीहरूमध्ये २,५१० जनाले परम्परागत पहलगाम मार्ग रोजेका छन् भने २,३१२ जनाले छोटो बालटाल मार्गबाट यात्रा गर्ने निर्णय गरेका छन्। पहिलो टोलीमा ३,७०७ पुरुष, ८१६ महिला, १६ बालबालिका, २४६ साधु तथा ३७ साध्वी सहभागी छन्। काफिलामा १०६ बस, ३९ मध्यम मोटर सवारी, १११ हल्का मोटर सवारी तथा ३ वटा दुई चक्के सवारी रहेका छन्।
अधिकारीहरू अनुसार, बालटालतर्फ जाने काफिला बिहान ६:१० बजी भगवती नगरबाट प्रस्थान गर्यो भने त्यसपछि पहलगामतर्फ जाने काफिला बिहान ६:३५ बजी रवाना भयो। दुवै काफिलालाई बहुस्तरीय सुरक्षा व्यवस्थाअन्तर्गत सुरक्षाकर्मीहरूको निगरानीमा गन्तव्यतर्फ पठाइएको छ।
उपराज्यपाल मनोज सिन्हाले तीर्थयात्रीहरूलाई शुभकामना दिँदै यात्रा सुरक्षित, सहज र समस्यारहित बनाउन व्यापक व्यवस्था गरिएको बताए। उनले यात्रुहरूका लागि पर्याप्त सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, आवास तथा अन्य आवश्यक सुविधाहरू उपलब्ध गराइएको जानकारी दिए।
यसअघि बुधवार उपराज्यपाल सिन्हाले बाबा बर्फानीका तीर्थयात्रीहरूको स्वागतका लागि तवी आरती तथा लाइट एन्ड साउन्ड शोको उद्घाटन गरेका थिए। सो अवसरमा उनले आस्था, अनुशासन र आध्यात्मिक जागरणले भरिएको यो पवित्र यात्रा असंख्य पुस्ताहरूका लागि प्रेरणाको स्रोत रहेको बताए। उनले देशभरिका श्रद्धालुहरूलाई यस आध्यात्मिक यात्रामा सहभागी हुन आह्वान गर्दै श्री अमरनाथजी यात्रा लामो समयदेखि विभिन्न भाषा, संस्कृति र परम्पराका मानिसहरूलाई साझा आस्थाको सूत्रमा बाँध्ने सशक्त माध्यम बनेको उल्लेख गरे।
तीर्थयात्रीहरू दिउँसोसम्म कश्मीर उपत्यका पुग्ने अपेक्षा गरिएको छ। त्यसपछि उनीहरू बालटाल र नुनवान आधार शिविरतर्फ जानेछन्, जहाँबाट निर्धारित कार्यक्रम अनुसार पवित्र गुफा मन्दिरतर्फको यात्रा अगाड़ी बढ़ाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी