दिल्ली नजिक आइपुग्यो मनसुन, राति केही ठाउँमा पर्यो पानी
दिल्ली नजिक आइपुग्यो मनसुन, राति केही ठाउँमा पर्यो पानी


नयाँ दिल्ली, 0२ जुलाई (हि.स.)। मनसुन अब दिल्लीको नजिक आइपुगेको छ। राष्ट्रिय राजधानी दिल्लीका केही क्षेत्रमा बुधबार राति भएको वर्षापछि तापक्रममा उल्लेखनीय गिरावट आएको छ। मण्डी हाउस क्षेत्रमा परेको तीव्र वर्षाले केही समयमै मौसम शीतल बनेको छ। लामो समयदेखि गर्मीको मार खेपिरहेका सर्वसाधारणले राहतको महसुस गरेका छन्।

भारत मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्ली-एनसीआरका लागि येलो अलर्ट जारी गर्दै आज आकाश सामान्यतया बादल रहने, मध्यम वर्षा हुने तथा तीव्र गतिमा हावा चल्ने पूर्वानुमान गरेको छ।

आईएमडीका अनुसार, पछिल्लो २४ घण्टामा तापक्रम ५.७ डिग्री सेल्सियसले घटेको छ। बुधबार सफदरजंगस्थित मानक मौसम केन्द्रमा ०.१ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो। यस अवधिमा अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम २८.६ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम आर्द्रता ८३ प्रतिशत र न्यूनतम आर्द्रता ४८ प्रतिशत रहेको विभागले जनाएको छ।

विभागका अनुसार, २ देखि ७ जुलाईसम्म दिल्लीको मौसममा निरन्तर परिवर्तन देखिनेछ। जुलाई २ देखि उत्तरपश्चिम भारतमा नयाँ पश्चिमी विक्षोभ सक्रिय हुने अनुमान गरिएको छ, जसको प्रभाव बुधबार रातिदेखि वा ३ जुलाईको बिहानसम्म देखिन सक्छ। यस अवधिमा आंशिक बदली रहने तथा दिउँसो वा साँझतिर मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ।

आईएमडीले २ जुलाईमा अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म रहने अनुमान गरेको छ। सामान्यतया बादल रहने, हल्का वर्षा, मेघगर्जन, चट्याङ तथा तीव्र हावा चल्ने सम्भावनालाई ध्यानमा राख्दै आगामी तीन दिनका लागि येलो अलर्ट जारी गरिएको छ। विभागका अनुसार ४, ५, ६ र ७ जुलाईमा पनि यस्तै मौसम रहनेछ। ती दिनहरूमा अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने सम्भावना छ।

मौसम विभागका अनुसार, दिल्लीमा आगामी केही दिनसम्म वर्षाको क्रम जारी रहनेछ, जसका कारण अधिकतम तापक्रम घटेर करिब ३४ डिग्री सेल्सियससम्म पुग्न सक्छ। साथै, आगामी दुई-तीन दिनभित्र मनसुन दिल्लीसँगै हरियाणा, पञ्जाब तथा उत्तर भारतका अधिकांश क्षेत्रमा फैलिने अनुमान गरिएको छ। यस वर्ष मध्य तथा उत्तरपश्चिम भारतमा मनसुनको आगमन केही ढिलो भए पनि यसको विस्तार तीव्र गतिमा भइरहेको विभागले जनाएको छ। सामान्यतया दिल्लीमा मनसुन २७ जूनमा प्रवेश गर्ने भए पनि आगामी दुई-तीन दिनभित्र आइपुगेमा यसलाई धेरै ढिलाई भएको मानिने छैन।

यसैबीच, मौसम विभागले आगामी चारदेखि पाँच दिनसम्म कोंकण क्षेत्र, गोवा र दक्षिण गुजरातमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै ती क्षेत्रका लागि रेड अलर्ट जारी गरेको छ। चण्डीगढस्थित भारत मौसम विज्ञान विभागका निर्देशक सुरिन्दर पालका अनुसार, मनसुन पञ्जाब र हरियाणाका केही क्षेत्रमा प्रवेश गरिसकेको छ र त्यहाँका विभिन्न जिल्लाबाट वर्षाको सूचना प्राप्त भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande