
एटा, 03 जुलाई (हि.स.)। उत्तर प्रदेशको एटा जिल्लाको बागवाला थाना क्षेत्रमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। कीलरमाऊ गाउँ नजिक सडकको छेउमा बिग्रिएर रोकिएको रोडवेज बसलाई पछाडिबाट तीव्र गतिमा आएको कन्टेनरले ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्कर यति शक्तिशाली थियो कि बसबाहिर उभिएका यात्रुहरू कन्टेनरको चपेटामा परेका थिए।
स्थानीय बासिन्दाले तत्काल उद्धार कार्य शुरु गरेका थिए। घटनाको जानकारी पाएलगत्तै बागवाला थाना पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई वीराङ्गना अवन्तीबाई मेडिकल कलेज पठाएको थियो। त्यहाँ चिकित्सकहरूले बुलन्दशहर निवासी ३८ वर्षीय सतेन्द्र, फर्रुखाबाद निवासी ३४ वर्षीय राजेश, ३० वर्षीय सुखराम, २९ वर्षीय शैलेश तथा एक अज्ञात व्यक्तिलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा नोएडाका ५२ वर्षीय आनन्द, ३० वर्षीय विवेक, ३२ वर्षीया पुनम, २३ वर्षीय विक्रान्त, फर्रुखाबादका सुमित, एटाका ३० वर्षीय नीतिश, मेरठका १५ वर्षीय विशाल, १७ वर्षीय रवी, २७ वर्षीय यतेन्द्र, १० वर्षीय दक्ष, फर्रुखाबादका २१ वर्षीय ऋषु तथा कासगञ्जका २४ वर्षीय ब्रजेशसहित ११ जना घाइते भएका छन्। उनीहरूको उपचार जारी रहेको बताइएको छ।
उक्त बस दिल्लीतर्फ जाँदै थियो
दुर्घटनाको जानकारी पाएपछि जिल्ला अधिकारी अरविन्द सिंह तथा वरिष्ठ पुलिस अधीक्षक डा. इलामारन जीसहित उच्च अधिकारीहरू घटनास्थल पुगेका थिए। उनीहरूले घटनास्थलको निरीक्षण गर्दै घाइतेहरूको प्रभावकारी उपचार गर्न निर्देशन दिएका छन्। पुलिसले दुर्घटनाग्रस्त कन्टेनर र रोडवेज बस हटाएर सडक यातायात पुनः सञ्चालनमा ल्याएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
मृतक राजेशका दाजु पवन कुमारका अनुसार, बस बिग्रिएर सडकको किनारमा रोकिएको थियो। त्यसै क्रममा पछाडिबाट तीव्र गतिमा आएको कन्टेनरले बसलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनका भाई राजेशको मृत्यु भएको छ। उनका कान्छा भाई अवधेश र परिवारका दुई बालिका पनि सोही बसबाट दिल्ली जाँदै थिए।
जिल्ला अधिकारीले बस बिग्रिएर सडक किनारमा रोकिएको भए पनि यसको केही भाग सडकमै रहेको बताए। सोही समयमा पछाडिबाट आएको कन्टेनरले बसमा ठक्कर दिँदा बाहिर उभिएका यात्रुहरू चपेटामा परेका थिए। घाइतेहरूको राम्रो उपचार भइरहेको र घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी