तीन राष्ट्रको भ्रमणमा प्रस्थानअघि प्रधानमन्त्री मोदीले भने- भारत र इन्डोनेसियाबीच गहिरो सांस्कृतिक सम्बन्ध
pm modi


नयाँ दिल्ली, 0६ जुलाई (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि इन्डोनेसिया, अष्ट्रेलिया र न्यूजिल्याण्डको तीन राष्ट्रिय भ्रमणमा जानेछन्। भ्रमणअघि जारी गरेको वक्तव्यमा उनले पहिलो चरणमा इन्डोनेसियाको भ्रमण गर्ने जानकारी दिँदै यस भ्रमणले भारत-इन्डोनेसिया सम्बन्धलाई अझ सुदृढ़ बनाउने विश्वास व्यक्त गरे। उनले भारत र इन्डोनेसियाबीच गहिरो सांस्कृतिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे।

प्रधानमन्त्री मोदीले भने, “म ६ देखि ११ जुलाईसम्म इन्डोनेसिया, अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमणमा रहनेछु। इन्डोनेसिया गणराज्यका राष्ट्रपति प्राबोवो सुबियान्तोको निमन्त्रणामा म ६ देखि ८ जुलाईसम्म इन्डोनेसियाको भ्रमण गर्नेछु। सन् २०१८ मा भएको मेरो पहिलो इन्डोनेसिया भ्रमणका क्रममा दुवै देशले आफ्नो द्विपक्षीय सम्बन्धलाई ‘व्यापक रणनीतिक साझेदारी’ को स्तरमा बढाएका थिए। त्यसयता यो मेरो पहिलो द्विपक्षीय भ्रमण हो। राष्ट्रपति प्राबोवोले २६ जनवरी, २०२५ मा भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका थिए।”

उनले भारत र इन्डोनेसियाबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अत्यन्त गहिरो रहेको उल्लेख गर्दै यस भ्रमणले बहुआयामिक साझेदारीका सबै पक्षलाई थप मजबुत बनाउने बताए। भ्रमणका क्रममा उनले इन्डोनेसियास्थित भारतीय समुदायसँग भेटघाट गर्नुका साथै राष्ट्रपति प्राबोवोसँग योग्याकार्तास्थित प्रसिद्ध प्रम्बानन मन्दिर परिसरको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।

इन्डोनेसियापछि प्रधानमन्त्री मोदी अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको निमन्त्रणामा मेलबर्न जानेछन्। उनले यस भ्रमणले भारत-अष्ट्रेलियाबीचको ‘व्यापक रणनीतिक साझेदारी’ लाई अझ सुदृढ़ बनाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री अल्बानिजसँग रक्षा तथा सुरक्षा, व्यापार तथा लगानी, शिक्षा, आवागमन (मोबिलिटी) तथा जनस्तरका सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल हुने उनले बताए। साथै मेलबर्नमा बसोबास गर्ने भारतीय समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि प्रधानमन्त्री मोदी न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनको निमन्त्रणामा अकल्याण्ड जानेछन्। उनले मार्च २०२५ मा प्रधानमन्त्री लक्सनको भारत भ्रमणपछि द्विपक्षीय सम्बन्ध अझ सुदृढ़ बनेको उल्लेख गर्दै यस भ्रमणले त्यसलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। दुवै नेताबीच आर्थिक, व्यापारिक तथा वाणिज्यिक सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ। साथै मुक्त व्यापार सम्झौतामार्फत द्विपक्षीय व्यापार र आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि जोड दिइनेछ। प्रधानमन्त्री मोदीले न्यूजिल्याण्डस्थित भारतीय समुदायले दुवै देशबीचको सम्बन्ध सुदृढ़ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अकल्याण्डमा उनीहरूलाई सम्बोधन गर्न उत्सुक रहेको बताए।

प्रधानमन्त्री मोदीले पूर्वी तथा दक्षिणी हिन्द महासागर क्षेत्रमा अवस्थित इन्डोनेसिया, अष्ट्रेलिया र त्यसपछि न्यूजिल्याण्डको भ्रमणले भारतको ‘एक्ट ईस्ट नीति’, ‘महासागर भिजन’ तथा स्वतन्त्र र खुला इन्डो-प्यासिफिक क्षेत्रप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande