मानखुर्दमा निर्माणाधीन तीनतले भवन भत्किँदा सात जनाको मृत्यु
मानखुर्दमा निर्माणाधीन तीनतले भवन भत्किँदा सात जनाको मृत्यु


मुम्बई, 0५ जुलाई (हि.स.)। मुम्बईको मानखुर्दस्थित मण्डाला जनता नगरमा आइतबार राति करिब ९ बजी निर्माणाधीन तीनतले भवन छेउको घरमाथि भत्किँदा एक महिला र छ जना बालबालिकासहित सात जनाको मृत्यु भएको छ। भग्नावशेषमा अझै एक जना पुरिएको आशंका गरिएको छ र उनको खोजी जारी छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अग्नि नियन्त्रण विभाग, एनडीआरएफ र पुलिस टोली घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य शुरु गरे। मानखुर्द पुलिस थानाले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

पुलिसका अनुसार, दिनभरि परेको लगातार वर्षापछि निर्माणाधीन भवन एक्कासि भत्किएर छेउको घरमाथि खसेको थियो। घटनामा धेरै व्यक्ति भग्नावशेषमा पुरिएका थिए। घाइतेहरूलाई तत्काल शताब्दी अस्पताल र राजावाडी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले सातै जनालाई मृत घोषणा गरेका थिए।

मुम्बई महानगरपालिकाकी मेयर रीतु तावडेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भत्किएको भवन कलेक्टरको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा निर्माण भएको बताइन्। उनका अनुसार, भग्नावशेषमा छेउको घरमा बस्ने एक महिला, उनका तीन सन्तान तथा छिमेकका अन्य तीन बालबालिका पुरिएका थिए।

स्थानीय पार्षद तथा भारतीय जनता पार्टी (भाजपा) का प्रदेश प्रवक्ता नवनाथ बनले दुर्घटनाग्रस्त भवन पूर्ण रूपमा अवैध निर्माण भएको बताए। उनले साँघुरा गल्लीका कारण एम्बुलेन्स तथा उद्धार टोलीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको उल्लेख गरे। भग्नावशेषमा अन्य व्यक्ति पनि पुरिएको आशंका रहेकाले एनडीआरएफ, अग्निनियन्त्रण विभाग, मुम्बई महानगरपालिका र पुलिस टोलीले सावधानीपूर्वक उद्धार तथा खोजी कार्य जारी राखेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande