
गान्तोक, 08 जुलाई (हि.स.)। पश्चिम बंगालको दक्षिण 24 परगना अन्तर्गत बारुईपुरमा एक नाबालिगमाथि भएको कथित बलात्कार तथा हत्या प्रकरणका मुख्य आरोपी प्रभास मण्डलको मंगलबार मध्यराति पुलिसको जवाफी कारबाहीमा मृत्यु भएको छ। पुलिसका अनुसार, घटनास्थलमा क्राइम सीन रिक्रिएसनका बेला उनले एक पुलिसको हतियार खोसेर भाग्ने प्रयास गरेका थिए र पुलिसमाथि गोली चलाएका थिए। त्यसपछि आत्मरक्षाका लागि गरिएको जवाफी फायरिङमा उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल बारुईपुर अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरे।
पुलिसका अनुसार, मंगलबार राति करिब १२:४५ बजी जाँच टोलीले प्रभास मण्डललाई सूरजपुरस्थित घटनास्थलमा लगेको थियो। त्यही क्रममा उनले कथित रूपमा एक पुलिसको बन्दुक खोसेर भाग्ने प्रयास गरेका थिए। पुलिसको दाबीअनुसार, उनले एक राउन्ड गोलीसमेत चलाएका थिए, त्यसपछि पुलिसले जवाफी कारबाही गरेको थियो।
यो घटना आइतबार सार्वजनिक भएको थियो, जब सूरजपुर क्षेत्रको एउटा पोखरीबाट एक किशोरीको शव फेला परेको थियो। पुलिसका अनुसार, किशोरीमाथि बलात्कार गरेपछि हत्या गरिएको आशंका गरिएको छ। घटनापछि स्थानीय क्षेत्रमा तीव्र आक्रोश फैलिएको थियो र दोषीहरूको तत्काल पक्राउ तथा कडा सजायको माग गरिएको थियो। प्रभास मण्डल यस प्रकरणमा पक्राउ परेका पहिलो आरोपी थिए। जाँचका क्रममा स्थानीय बासिन्दाले किशोरी बेपत्ता हुनुअघि उनलाई प्रभास मण्डलसँग देखिएको दाबी गरेका थिए। पुलिसले केही सीसीटीभी फुटेज पनि प्राप्त गरेको जनाएको छ, जसमा किशोरी एक युवकसँग देखिएको बताइएको छ। पुलिस जाँचमा उक्त युवकको पहिचान प्रभास मण्डलका रूपमा भएपछि उनलाई पक्राउ गरिएको थियो। यद्यपि, सीसीटीभी फुटेजको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको बताइएको छ।
पुलिसका अनुसार, सोधपुछका क्रममा प्रभास मण्डलले जाँचमा सहयोग नगरी लगातार भ्रामक जानकारी दिइरहेका थिए। त्यसैले घटनाका विभिन्न कडीहरू जोड्न उनलाई घटनास्थलमा लगेर क्राइम सीन रिक्रिएसन गराइएको थियो।
यसैबीच, पुलिसले यसै प्रकरणमा अर्का आरोपी कबीर मोल्लालाई क्षेत्रबाट पक्राउ गरेको छ। यो कारबाही विशेष कार्यबल (एसटीएफ), बारुईपुर विशेष अपरेशन समूह (एसओजी) र जिल्ला पुलिसले संयुक्त रूपमा गरेको हो। यससँगै चर्चित बलात्कार-हत्या प्रकरणमा पक्राउ परेका आरोपीहरूको संख्या चार पुगेको छ। यसअघि प्रभास मण्डल, आनन्द सरदार र दिवाकर सरदारलाई पक्राउ गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी