
नयाँ दिल्ली, 09 जुलाई (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीको रोहिणी सेक्टर-१६ मा बुधबार साँझ नयाँ निर्माण गरिएको चार तले (ग्राउन्ड प्लस) भवन अचानक भत्किँदा तीन जनाको मृत्यु भएको छ। साथै, धेरै घण्टासम्म चलेको उद्धार अभियानपछि एक मजदुरलाई भग्नावशेषबाट जीवित उद्धार गरिएको छ। पुलिस, एनडीआरएफ, दमकल विभाग तथा अन्य निकायहरूले संयुक्त रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गरेका छन्। पुलिसले सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरी जाँच शुरु गरेको छ।
रोहिणी जिल्ला पुलिस उपायुक्त शशांक जायसवालका अनुसार, बुधबार साँझ करिब ४:२८ बजी पीसीआरमा रोहिणी सेक्टर-१६ को जी-४ पकेटस्थित घर नम्बर १५१-१५२ मा नयाँ निर्माण गरिएको भवन भत्किएको सूचना प्राप्त भयो। सूचना प्राप्त हुनासाथ केएन कट्जु मार्ग थाना पुलिस घटनास्थल पुगेको थियो। त्यहाँ पुग्दा सम्पूर्ण भवन जमिनमा ढलेको र त्यसको भग्नावशेष सडकसम्म फैलिएको थियो। स्थानीयवासीहरूले निर्माण कार्यका क्रममा केही मजदुर तथा अन्य व्यक्ति भवनभित्र रहेको र उनीहरू भग्नावशेषमा पुरिएको जानकारी दिए।
सूचना प्राप्त भएपछि एनडीआरएफ, दिल्ली दमकल सेवा, टीपीडीडीएल तथा अन्य निकायका टोलीहरू पनि घटनास्थल पुगे। भारी मेसिन तथा आधुनिक उपकरणहरूको सहायताले भग्नावशेष हटाउने कार्य शुरु गरियो। धेरै घण्टासम्म चलेको उद्धार अभियानका क्रममा सबैभन्दा पहिले ३४ वर्षीय मजदुर सद्दामलाई जीवित उद्धार गरिएको थियो। घाइते अवस्थाका उनलाई तत्काल डा. भीमराव अम्बेडकर अस्पताल लगियो, जहाँ उनको उपचार जारी छ।
उद्धार अभियानका क्रममा भग्नावशेषबाट तीन जनाको शव पनि निकालिएको थियो। मृतकहरूको पहिचान ४२ वर्षीय राम, २० वर्षीय नूरुल हुदा (उर्फ कफे) तथा ५१ वर्षीय राम दुआका रूपमा भएको छ। राम स्थानीय बासिन्दा तथा पेशाले दर्जी थिए। नूरुल हुदा बहराइच जिल्लाका बासिन्दा थिए र निर्माण मजदुरका रूपमा काम गर्थे। राम दुआ उक्त भवनका मालिकका पिता रहेको बताइएको छ। तीनै जनालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
प्रारम्भिक जाँचअनुसार, उक्त भवन हालै मात्र निर्माण गरिएको थियो। दुर्घटना भएको समयमा भवनमा निर्माणसम्बन्धी केही कामहरू चलिरहेका थिए। अचानक सम्पूर्ण भवन भत्किँदा त्यहाँ रहेका व्यक्तिहरूलाई बच्ने मौका समेत पाएनन्। ठूलो आवाज सुनेर स्थानीयवासीहरू घटनास्थलमा पुगेका थिए र प्रारम्भिक उद्धार कार्य शुरु गरेका थिए। त्यसपछि पुलिस तथा अन्य निकायका टोलीहरू पनि घटनास्थलमा पुगेका थिए।
दुर्घटनापछि सुरक्षा कारणले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरिएको थियो। राति अबेरसम्म भग्नावशेष हटाउने कार्य जारी राखिएको थियो ताकि त्यसभित्र अन्य कोही व्यक्ति पुरिएको छ कि छैन भन्ने सुनिश्चित गर्न सकियोस्। पुलिसका अनुसार, उद्धार अभियान लगभग सम्पन्न भइसकेको छ, यद्यपि सावधानीका रूपमा भग्नावशेष हटाउने कार्य जारी राखिएको छ।
पुलिसले भवन निर्माण प्रक्रिया, नक्सा स्वीकृति, निर्माण सामग्रीको गुणस्तर तथा सुरक्षा मापदण्डहरूको पालना गरिएको थियो वा थिएन भन्ने विषयमा जाँच शुरु गरेको छ। प्रारम्भिक तथ्यका आधारमा मुद्दा दर्ता गरिएको छ। जाँचका क्रममा निर्माण कार्यमा कुनै लापरवाही वा नियम उल्लङ्घन भएको पाइएमा जिम्मेवार व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी