
जलपाईगुड़ी, 17 अगस्त (हि.स.)। जिल्लाको राजगञ्ज ग्रामीण अस्पतालमा पछिल्लो लामो समयदेखिकै व्याप्त पिउने पानीको समस्या समाधान भएको छ। राजगञ्ज पञ्चायत समितिको फण्डबाट लगभग साढ़े तीन लाख रुपियाँको लागतमा सोलर चालित वाटर ट्याङ्क तयार गरिएको छ जसको उद्घाटन विधायक दिनेश सरकारले सोमवार गरे।
राजगञ्ज ग्रामीण अस्पतालमा प्रतिदिन ठूलो सङ्ख्यामा रोगीहरू उपचार गर्नका लागि आउने गर्दछन्। अस्पतालमा पर्याप्त पिउने पानीको व्यवस्था नभएको कारणले उनीहरूलाई समस्या हुँदै आएको थियो। यसै समस्यालाई मध्यनजर गर्दै राजगञ्ज पञ्चायत समितिले सोलर वाटर ट्याङ्क जड़ान गर्ने पहल गरेको हो।
निर्माण कार्य पूरा भएपछि सोमवार विधायक दिनेश सरकारले वाटर ट्याङ्कको उद्घाटन गरे। यसबाट अस्पतालमा आउने रोगीहरू तथा उनीहरूका परिवारहरूलाई पिउने पानीको सविधा सहजै प्राप्त हुनेछ।
भाजपा विधायक दिनेश सरकारले भने, राजगञ्ज ग्रामीण अस्पतालमा प्रतिदिन ठूलो सङ्ख्यामा रोगीहरू तथा उनीहरूको परिवारहरू आउँछन्। यहाँ दीर्घकालदेखि नै पिउने पानीको समस्या थियो। यसै समस्यालाई समाधान गर्ने उद्देश्ले सोलर वाटर ट्याङ्कको माध्यमबाट पिउने पानीको व्यवस्था गरिएको हो। उनले भने, भविष्यमा आवश्यकता अनुसार अस्पताल परिसरमा थप सोलर वाटर ट्याङ्क जड़ान गर्ने पहल गरिनेछ।
कार्यक्रममा ब्लक स्वास्थ्य अधिकारी डा. राहुल राय, राजगञ्ज पञ्चायत समितिमा विपक्षी दलका नेता निताई मण्डल सहित अन्य मानिसहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा