छाङ्गुमा भारतीय सेनाद्वारा आधुनिक ढल प्रशोधन केन्द्र सञ्चालनमा
छाङ्गुमा भारतीय सेनाद्वारा आधुनिक ढल प्रशोधन केन्द्र सञ्चालनमा


गान्तोक, 17 अगस्त (हि.स.)। भारतीय सेनाको त्रिशक्ति कोरले सिक्किमको उच्च हिमाली क्षेत्र छाङ्गुमा आधुनिक ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ। उच्च हिमाली क्षेत्रमा सरसफाई तथा पर्यावरण संरक्षणलाई थप सुदृढ़ गर्ने उद्देश्यले स्थापना गरिएको उक्त केन्द्रमा भाभा आणविक अनुसन्धान केन्द्रद्वारा विकसित स्वदेशी प्रविधिको प्रयोग गरिएको छ। उक्त जानकारी आज पीआईबीले प्रेस विज्ञप्तिमा दिएको छ।

नाथाङ-माछोङ निर्वाचन क्षेत्रकी विधायक पमिन लेप्चाले सेना तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा उक्त केन्द्रको उद्घाटन गरिन्। उद्घाटन समारोहले नागरिक-सैनिक सहकार्य तथा स्थानीय समुदायको कल्याणप्रति साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ।

नयाँ केन्द्रले फोहोर पानीको प्रभावकारी प्रशोधन गरी महत्वपूर्ण जलस्रोतको संरक्षणमा सहयोग पुर्‍याउनेछ। स्वदेशमै विकसित प्रविधिको प्रयोगले ‘आत्मनिर्भर भारत’ को भावनालाई प्रतिबिम्बित गर्नुका साथै कठिन भौगोलिक तथा जलवायु परिस्थितिमा पर्यावरणीय चुनौती समाधान गर्न भारतीय वैज्ञानिक प्रविधिको व्यावहारिक प्रयोगलाई समेत देखाएको छ।

सिक्किमका जनताका लागि धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने छाङ्गु लेक वरपरको संवेदनशील पर्यावरण संरक्षणमा पनि यस परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। लेकको प्राकृतिक तथा आध्यात्मिक महत्वलाई सम्मान गर्दै यसको आसपासको नाजुक पारिस्थितिक प्रणाली संरक्षण गर्न परियोजना सहयोगी बन्नेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय सेनाका एक वरिष्ठ अधिकारीले पर्यावरण संरक्षण र स्थानीय परम्पराको सम्मान क्षेत्रका जनताप्रतिको सेनाको प्रतिबद्धताको अभिन्न हिस्सा भएको बताए। स्वदेशी प्रविधि र स्थानीय समुदायको सहकार्यबाट सञ्चालनमा आएको यस सुविधाले जलस्रोत संरक्षण गर्दै भावी पुस्ताका लागि पर्यावरण सुरक्षित राख्न सहयोग पुर्‍याउने उनले उल्लेख गरे।

यस परियोजनाले दिगो विकासप्रति भारतीय सेनाको प्रतिबद्धतालाई थप मजबुत बनाउनुका साथै सिक्किमका जनतासँगको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande