
काठमाडौँ, १७ अगस्त (हि.स.)। भारतीय थल सेनाध्यक्ष जनरल धीरज सेठले आजदेखि नेपालको आफ्नो औपचारिक भ्रमण शुरु गरेका छन्। आइतबार साँझ नेपाल आइपुगेका जनरल सेठले सोमबार बिहान सबैभन्दा पहिले काठमाडौँको सैनिक मञ्चस्थित शहीद गेटमा पुगेर वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
त्यसपछि टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाको तर्फबाट भारतीय थल सेनाध्यक्ष जनरल धीरज सेठलाई गार्ड अफ अनर प्रदान गरियो। सो अवसरमा जनरल सेठले सम्मान गारदको निरीक्षणसमेत गरे।
गार्ड अफ अनरपछि जनरल सेठ नेपाली सेनाको मुख्यालय पुगे, जहाँ नेपाली सेनाका प्रधान सेनापति जनरल अशोक राज सिग्देलले उनको औपचारिक स्वागत गरे। कार्यक्रममा नेपाली सेनाका वरिष्ठ तथा उच्च अधिकारीहरूको समेत उपस्थिति थियो।
सैनिक मुख्यालय, जंगी अड्डामा जनरल सेठ र नेपाली सेनाका प्रधान सेनापति जनरल अशोक राज सिग्देलबीच औपचारिक द्विपक्षीय बैठक भयो। बैठकमा दुई देशबीच लामो समयदेखि कायम ऐतिहासिक तथा परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयसहित आपसी सहयोगका विभिन्न पक्षमा छलफल भएको थियो।
यसै क्रममा नेपाली सेनाका डीजीएमओले भारतीय थल सेनाध्यक्षलाई नेपाली सेनाले हालसम्म गरेका महत्वपूर्ण कार्य तथा गतिविधिबारे जानकारी गराएका थिए।
भारतीय थल सेनाध्यक्ष जनरल धीरज सेठको नेपाल भ्रमणका क्रममा आज एक महत्वपूर्ण सम्मान समारोहसमेत आयोजना हुँदैछ। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथी अर्थात् अनरेरी जनरलको मानार्थ पदवी प्रदान गर्ने कार्यक्रम रहेको छ।
भारत र नेपालबीचको सैन्य सम्बन्धमा यस सम्मानको विशेष परम्परा रहँदै आएको छ। दुवै देशका थल सेनाध्यक्षलाई एक-अर्काको सेनामा मानार्थ जनरलको उपाधि प्रदान गर्ने परम्परा दुई देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ सैन्य सम्बन्धको प्रतीकका रूपमा लिइन्छ।
हिन्दुस्थान समाचार / बिशाल