एलपीजी आपूर्ति सहज बनाउन माग गर्दै विद्यार्थीको काठमाडौंमा प्रदर्शन
काठमांडू में गैस आपूर्ति को लेकर प्रदर्शन


काठमाडौं, १८ अगस्त (हि.स.)। खाना पकाउने एलपीजीको आपूर्ति सहज बनाउन माग गर्दै विद्यार्थीहरूले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्। लामो समयदेखि जारी ग्यास अभावका कारण विद्यार्थीहरू समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले सरकारको नीतिका कारण ग्यास अभाव भएको आरोप लगाउँदै तत्काल ग्यासको बिक्री तथा वितरण सहज बनाउन माग गरेका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले खाली ग्यास सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।

विद्यार्थी नेताहरूले काठमाडौंमा अध्ययनरत विद्यार्थी तथा आर्थिक रूपमा कमजोर वर्ग ग्यास अभावका कारण भोकै बस्नुपर्ने, होटलमा गएर खाना खान नसक्ने र कतिपय अवस्थामा सवारीसाधनको भाडासमेत तिर्न नसक्ने अवस्थाको सामना गरिरहेको बताएका छन्।

उनीहरूले यसअघि डिलरमार्फत ग्यासको सहज वितरण हुँदै आएको भए पनि सरकारले आफ्नै स्तरबाट ग्यास वितरण गर्ने प्रयास गरेपछि आपूर्ति प्रणाली प्रभावित भएको आरोप लगाए। यसका कारण ग्यासको चरम अभाव, लामो लाइन र सर्वसाधारणले विभिन्न समस्या भोग्नुपरेको विद्यार्थी नेताहरूको भनाई छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande