खरसाङ नगरपालिकाद्वारा निर्मल बन्धु र निर्मल साथीहरुलाई 118 पीपीई किट्स वितरण
Nirmal bandhu


खरसाङ, 17 अगस्त (हि.स.)। खरसाङ नगरपालिकाद्वारा निर्मल बन्धु र निर्मल साथीहरुलाई पीपीई किट्स वितरण गरिएको छ। उक्त पीपीई किट्स शहरी विकास अनि नगरपालिका मामिला विभाग कोलकाताबाट प्राप्त भएको र सुरक्षाको लागि खरसाङ नगरपालिकामा कार्यरत् सफाई कर्मचारीहरुलाई प्रदान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रुपमा खरसाङ महकुमा शासक एवं खरसाङ नगरपालिकाकी प्रशासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाका ईओ थेण्डुप भोटिया लगायत अन्यहरु उपस्थित रहेका थिए। प्रत्येक पीपीई किट्समा रेनकोट, हेल्मेट, एप्रोन, ग्ल्ब्स लगायत निर्मल बन्धु र निर्मल साथीहरुलाई सुरक्षित राख्ने अन्य विभिन्न सर सामानहरु रहेका थिए। यी सबै सामानहरु निर्मल बन्धु र निर्मल साथीहरुलाई कामको समयमा सुरक्षाका लागि प्रदान गरिएको हो।

यस अवसरमा पहिलो किस्तामा जम्मा 118 वटा पीपीई किट्स वितरण गरिएको छ। यसको दोस्रो किस्ता पनि प्राप्त भएपछि वितरण गरिने बताइएको छ।

विधायक लामाले आफ्नो सम्बोधनमा खरसाङ शहरको सर सफाई र नागरिकहरुको स्वच्छता विषयमा काम गर्नु पर्ने कुरामा जोड दिए। उनले फोहोर मैला प्रबन्धनको उत्तरदायित्व सबैको रहेको कुरामा ध्यानाकर्षण गराए। उनले नगरपालिकाका कर्मचारीहरुको प्रशंसा पनि गरेका छन्।

खरसाङ महकुमा शासक एंव खरसाङ नगरपालिकाकी प्रशासक आईएएस प्रिया यादवले सफाई कर्मचारीहरुका कार्य र उनीहरुको प्रयासलाई सराहना गर्दै शहरलाई सफा र स्वच्छ राख्नलाई सफाई कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले खरसाङ शहरलाई सफा र स्वच्छ राख्नु पर्ने र नागरिकहरुको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने आह्वान् गरेकी छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande