
काठमाडौँ, १७ अगस्त (हि.स.)। नेपालमा प्राकृतिक विपत्तिका कारण पछिल्लो चार दिनमा रोल्पा र जाजरकोट जिल्लामा गरी २१ जनाको मृत्यु भएको छ। लगातार भइरहेको वर्षापछि गएको पैह्रोमा एक जना अझै बेपत्ता छन् भने ११ जना घाइते भएको राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, निरन्तरको वर्षापछि रोल्पाका थवाड़, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका विभिन्न स्थानमा भीषण पैह्रो गएको छ। ती घटनामा हालसम्म १७ जनाको मृत्यु भएको छ। थवाड़मा गएको पैह्रोमा मात्रै १२ जनाको ज्यान गएको छ। एक जना बेपत्ता छन् भने दुई जना गम्भीर घाइते भएका छन्।
त्यस्तै, सुनछहरीमा चार जना र लुङ्ग्रीमा एक जनाको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिकामा गएको पहिरोमा थप चार जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, पछिल्लो चार दिनदेखि लगातार भइरहेको वर्षापछि विभिन्न स्थानमा गएको भीषण पह्रोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको हो। एक जना अझै बेपत्ता छन् भने घाइतेको संख्या ११ पुगेको छ।
उनले राहत तथा उद्धारका लागि स्थानीय तह, रेडक्रस र सुरक्षाकर्मीलाई परिचालन गरिएको जानकारी दिइन्। पह्रोको अध्ययन गर्न समिति गठन गरिएको छ। उक्त समितिले भेरी नगरपालिका तथा बाजुराको त्रिवेणी नगरपालिकामा गएको पैह्रोको समेत भूगर्भीय अध्ययन गर्नेछ। प्राधिकरणले समितिलाई आगामी तीन दिनभित्र घटनास्थलमा पुगेर अध्ययन गर्न निर्देशन दिएको छ।
प्राधिकरणले हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा लगातारको वर्षाका कारण जमिन कमजोर र दलदली बनेकाले पैह्रोको घटना तथा जोखिम बढिरहेको जनाएको छ। साथै अन्य क्षेत्रमा बाढी, आकस्मिक बाढी, माटो तथा पैह्रोको जोखिमसमेत कायम रहेको बताइएको छ।
प्राधिकरणले मनसुनको अवधिमा सर्वसाधारणलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल