
काठमाडौँ, १७ अगस्त (हि.स.)। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज नेपालभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वका अवसरमा काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका विभिन्न नागस्थान, नागदह तथा कुण्डहरूमा पूजा-अर्चना, जल अर्पण र प्रसाद वितरणलगायत धार्मिक अनुष्ठानहरू भइरहेका छन्। बिहानैदेखि श्रद्धालुहरू पूजा सामग्री लिएर विभिन्न धार्मिक स्थलमा पुगिरहेका छन्।
परम्पराअनुसार नागपञ्चमीका दिन घरको मुख्य द्वारमा नागको चित्र टाँसेर गाईको दूध, दूबो, अक्षता, खीर, रोटी लगायतका सामग्री अर्पण गरी नागदेवताको पूजा गरिन्छ। नागपूजा गर्ने परम्परा वैदिक कालदेखि नै चलिआएको धार्मिक विश्वास छ।
वैदिक मान्यताअनुसार, नागलाई सर्पहरूको राजा मानिन्छ। नागदेवता रिसाएमा पानीको अभाव हुने जनविश्वास रहेकाले वर्षा, सुख-समृद्धि तथा परिवारको कल्याणको कामना गर्दै नागको पूजा गर्ने परम्परा रहेको छ।
नागहरूको सम्बन्ध भगवान् विष्णु र भगवान् शिवसँग समेत जोडिएको धार्मिक विश्वास छ। भगवान् शिवले नागलाई आफ्नो गलामा मालाका रूपमा धारण गर्नुभएको छ भने धार्मिक ग्रन्थहरूमा भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा शयन गर्ने उल्लेख पाइन्छ।
नागपञ्चमीका अवसरमा भक्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत भव्य रूपमा आयोजना भइरहेका छन्। परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित स्थानीयवासीहरू उत्साहपूर्वक पूजा-अर्चनामा सहभागी भइरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल