
कोलकाता, 17 अगस्त (हि.स.)। पाकिस्तानी नागरिक राणा रउफ उर्फ वहाब आलमलाई नेपालको काठमाडौँबाट पश्चिम बङ्गालको कोलकाता ल्याएको र नक्कली भारतीय परिचय पत्र बनाएको आरोपमा बङ्गाल पुलिसको विशेष कार्यबल (एसटीएफ) ले अर्का युवकलाई पक्राउ गरेको छ। पक्रा परेको युवकको पहिचान इमरान हुसैनको रूपमा भएको छ। उ तपसियाको बासिन्दा हो।
एसटीएफले राणा रउफलाई स्वतन्त्रता दिवसअघि 12 अगस्तमा उत्तर 24 परगना जिल्लाको हाबराबाट पक्राउ गरेको थियो। अनुसन्धानबाट रउफ नक्कली पहिचानको आधारमा कोलकातामा बसिरहेको खुलासा भएको थियो। उ नेपाल हुँदै भारत आएको थियो। अनुसन्धान एजेन्सीहरूले पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइसँग पनि उनको सम्बन्ध रहेको पत्ता लगाएका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार, राणालाई भारतमा गोप्य नेटवर्क बनाउने जिम्मा दिइएको थियो। उसले संवेदनशील र गोप्य जानकारी सङ्कलन गर्न मानिसहरूलाई भित्र्याउने प्रयास गरिरहेको थियो। अनुसन्धानले उसले बङ्गलादेश हुँदै भाग्ने योजना बनाएको पनि खुलासा गरेको छ।
यस मामिलामा राणालाई सहयोग गरेको आरोपमा तपसिया निवासी इजाज अलीलाई पहिले नै पक्राउ गरिएको छ। एसटीएफ अनुसार, एजाज राणाको सहयोगीका रूपमा काम गर्दैथियो। अहिले अनुसन्धानका क्रममा इमरान हुसैनको भूमिका प्रकाशमा आएको छ।
इमरानले राणाका लागि नक्कली भारतीय कागजात तयार गर्न सहयोग गरेको एसटीएफले आरोप लगाएको छ। यसबाहेक उ स्वयं काठमाडौँ गएको थियो र त्यहाँबाट राणालाई कोलकाता ल्याएको थियो। राणा कोलकाताको तपसिया क्षेत्रमा बस्दै आएको तियो।
इमरानलाई सोमवार बारासात अदालतमा पेश गरियो। उसलाई सोधपुछका लागि पुलिस हिरासतमा राखिएको छ। एसटीएफले सोधपुछको क्रममा यस सम्पूर्ण नेटवर्कसँग सम्बन्धित अन्यका बारेमा महत्त्वपूर्ण जानकारी पाउन सकिने आशा गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी