सिक्किमका 11 जना खेलाडीले १३औँ उत्तर-पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनसिपमा भाग लिने
Sikkim shooting players


गान्तोक, 17 अगस्त (हि.स.)। सिक्किम राइफल एसोसिएसन (एसआरए) का 11 जना खेलाडीहरूले आगामी २५ देखि ३१ अगस्त, २०२६ सम्म असममा आयोजना हुने १३औँ उत्तर-पूर्व क्षेत्रीय सुटिङ च्याम्पियनसिपमा भाग लिने भएका छन्। एसआरएले आज दिउँसो व्हाइट हल कम्प्लेक्सस्थित सिक्किम राज्य खेलकुद विकास बोर्डका अध्यक्षको कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन उक्त जानकारी दिएको हो।

सिक्किम राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ वाङ्ग्याल छोपेलले स्थापना भएको एक वर्षमै सिक्किम राइफल एसोसिएसनले उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको राज्य सरकार तथा खेलकुद एवं युवा मामिला विभागको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सबै ११ खेलाडीलाई शुभकामना दिए। साथै, उनले खेलाडीहरूलाई भविष्यमा २०३० को गुजरात राष्ट्रमण्डल खेलकुद तथा भारतमा आयोजना हुन सक्ने २०३६ ओलम्पिक खेलकुद जस्ता महत्वपूर्ण लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरे।

खेलकुद तथा युवा मामिला विभागकी सचिव याङ्छेन डोमा तामाङले सिक्किम राइफल एसोसिएसनले छोटो समयमै सिक्किम राज्य ओलम्पिक संघ तथा भारतको राष्ट्रिय राइफल संघसँग आबद्धता प्राप्त गरेकोमा प्रशंसा गरिन्। उनले ११ सदस्यीय टोलीमा ६ जना महिला खेलाडी तथा ११-१२ वर्ष उमेरका एक युवा खेलाडी समेत समावेश भएको उल्लेख गरिन्। एक ओलम्पियन बन्नका लागि ८-१० वर्षको निरन्तर मेहनत आवश्यक पर्ने बताउँदै उनले खेलाडीहरूले सही समयमा आफ्नो यात्रा शुरु गरेको र भारतले आयोजना गर्न सक्ने राष्ट्रमण्डल तथा ओलम्पिक खेलकुदलाई ध्यानमा राखी निरन्तर अभ्यासमा लागिरहन आग्रह गरिन्।

सिक्किम राइफल एसोसिएसनका संस्थापक तथा अध्यक्ष सञ्जय बुढाथोकीले राज्यमा सुटिङ खेलको विकाससम्बन्धी जानकारी दिए। उनका अनुसार, एसोसिएसन भारतको राष्ट्रिय राइफल संघसँग आधिकारिक रूपमा आबद्ध रहेको, जसले राज्यस्तरीय प्रतियोगिता, नियम तथा टोली छनोटलाई संघका मापदण्डअनुसार सञ्चालन गर्न सुनिश्चित गर्दछ।

उनले जून २०२६ मा सम्पन्न राज्यस्तरीय च्याम्पियनसिपबाट छनोट भएका ११ खेलाडीहरूलाई १० मिटर इन्डोर एयर राइफल तथा एयर पिस्टल प्रतियोगितामा सिक्किमको प्रतिनिधित्व गर्न पठाइएको जानकारी दिए।

आफ्नो दीर्घकालीन दृष्टिकोणबारे बोल्दै बुढाथोकीले २०३० राष्ट्रमण्डल खेलकुद र सम्भावित २०३६ ओलम्पिकलाई लक्षित गरी तल्लो तहदेखि प्रतिभा विकासमा जोड दिनुपर्ने बताए। उनले सुटिङलाई सुरक्षित, व्यवस्थित तथा सबै उमेर समूहका लागि उपयुक्त खेलको रूपमा वर्णन गर्दै सिक्किममा ६४ वर्षसम्मका खेलाडीहरू पनि सक्रिय रहेको जानकारी दिए। साथै, यस खेलले युवाहरूमा एकाग्रता र अनुशासन विकास गर्न सहयोग पुर्‍याउने तथा डिजिटल युगमा सकारात्मक र संरचित गतिविधि प्रदान गर्ने उल्लेख गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande