
गान्तोक, 17 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पर्यटन तथा नागरिक उड्डयन विभागले अघि सारेको एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको स्वामित्व सिक्किम सरकारकै मातहतमा हुनुपर्ने माग गरेको छ।
पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पासाङ शेर्पाले उक्त प्रणाली पर्यटक तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको सुविधाका लागि ल्याउन लागिएको भनिए पनि राज्यमा एआईमा आधारित एकीकृत प्रणालीको अवधारणा नयाँ नभएको बताए। उनले प्रणालीको स्वामित्व कसको हुने र यसको समग्र जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए। उनले भने, “एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको स्वामित्व सिक्किम सरकार नै हुनुपर्छ।
प्रवक्ता शेर्पाले सरकारी प्रणालीको जिम्मेवारी निजी पक्षलाई हस्तान्तरण गर्ने तयारीप्रति आपत्ति जनाउँदै यस्तो महत्वपूर्ण प्रणाली निजी क्षेत्रलाई दिनुको औचित्यमाथि प्रश्न उठाए। उनले “मुख्यमन्त्रीलाई कसले भ्रममा पारिरहेको छ?” भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरे।
शेर्पाले प्रस्तावित शुल्क संरचना अत्यधिक महँगो रहेको दाबी गर्दै यसले सिक्किमको पर्यटन उद्योगमा नकारात्मक असर पार्न सक्ने चेताउनी दिए। पर्यटक तथा पर्यटन व्यवसायीलाई सुविधा दिने उद्देश्यले ल्याउन लागिएको प्रणालीको शुल्क नै अत्यधिक भए त्यसले पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने उनको भनाई थियो।
उनले यदि एकीकृत सिङ्गल विन्डो परमिट प्रणाली निजी पक्षलाई हस्तान्तरण गरिएमा र प्रस्तावित शुल्क संरचना भोलि हुने बैठकबाट पारित गरिएमा भाजपा सडकमा उत्रिन सक्ने चेताउनी दिए। उनले आवश्यक परे पार्टीले यस विषयमा अदालतको समेत सहारा लिने बताए।
यसैगरी, शेर्पाले सिङ्गल विन्डो प्रणालीको आवश्यकता आज लाइसेन्स तथा विभिन्न अनुमतिपत्र जारी गर्ने प्रक्रियामा रहेको बताए। सर्वसाधारणले लाइसेन्स लिन सरकारी कार्यालयहरूमा विभिन्न झन्झट र हैरानी व्यहोर्नुपरेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई सरल, पारदर्शी र एकद्वार प्रणालीमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिए।
भाजपा प्रवक्ता शेर्पाले प्रविधिमा आधारित प्रणालीको विरोध नभएको स्पष्ट पार्दै यसको स्वामित्व, सञ्चालन, शुल्क संरचना र पारदर्शिताबारे सरकारबाट स्पष्टता आवश्यक रहेको बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल