माथिल्लो सिरुबारीमा वृक्षरोपण अभियान सम्पन्न
Plantation


खरसाङ, 17 अगस्त (हि.स.)। तामाङ संस्था, माथिल्लो सिरुबारी खरसाङको आयोजनामा पर्यावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा क्षेत्रलाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यले वृक्षरोपण अभियान सम्पन्न भएको छ।

हतारे गोलाईदेखि ‘आई लभ खरसाङ’ सम्म रोहिणी रोडको छेउछाउमा आयोजित अभियानमा संस्थाका सभापति दिपेन मोक्तान, सचिव दिपंकर गुरुङ, सहसचिव रजय थोक्कोर, कोषाध्यक्ष सुरेश घिसिङ लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियानमा सहभागीहरूले पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै रोपिएका बिरुवाको नियमित हेरचाह, संरक्षण तथा संवर्द्धनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए। वृक्षरोपणले वातावरणलाई हराभरा बनाउनुका साथै भावी पुस्ताका लागि स्वच्छ, स्वस्थ र सुन्दर वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

यस अभियानलाई सफल बनाउन समाज सेवा समिति तथा ग्राम सुधार समितिले महत्वपूर्ण सहयोग र सक्रिय सहभागिता जनाएका थिए। संस्थाले सहयोग, सहभागिता र योगदानका लागि दुवै समितिप्रति आभार व्यक्त गरेको छ।

‘आज एउटा रुख रोपौँ, भोलिको भविष्य सुरक्षित बनाऔँ’ भन्ने मूल सन्देशका साथ सम्पन्न अभियानले स्थानीय समुदायमा पर्यावरण संरक्षण र हरियाली प्रवर्द्धनप्रति थप चेतना तथा सकारात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ।

तामाङ संस्था, माथिल्लो सिरुबारीले आगामी दिनमा पनि वातावरण संरक्षण, सरसफाई, सामाजिक सेवा तथा सामुदायिक विकाससँग सम्बन्धित विभिन्न रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande