
आसनसोल, 18 अगस्त (हि.स.)। पश्चिम बर्दवान जिल्ला अन्तर्गत आसनसोलको रेलपार क्षेत्रमा लगातार परिरहेको मुसलधारे पानीले जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ। वर्षाको पानी कतिपय मानिसहरूको घरभित्र पसिसकेको छ भने कतिपय क्षेत्रमा पानीको गहिराई 5-देखि 10 फटसम्म पुगेको बताइन्छ।
स्थिति यहाँसम्म पुगेको छ कि अधिकांश परिवारहरूलाई आफ्नो घर छोड़ेर माथिल्लो तला वा छतमा शरण लिन परिरहेको छ। दुई-तीन तला घर हुनेहरूले रातभरि माथि बसेरै समय बिताए भए केही परिवारहरूले आप्नो घर छोड़ेर छतमा शरण लिए।
जलजमाउको कारणले घरभित्र राखिएका सामानहरू पनि प्रभावित भएका छन्। मानिसहरू समक्ष सुरक्षित स्थानमा जाने समस्या उत्पन्न भएको छ। पानी बढ़्न थालेपछि कतिपय परिवारहरू घर छोड़ेर अन्यत्र जान शुरू गरेका छन्।
घटना बारे जानकारी पाउनसाथ आसनसोल नगरनिगमका अधिकारीगण औ पश्चिम बर्दवान जिल्ला प्रशासनका अधिकारीगण विभिन्न जलमग्न क्षेत्रहरूको निरीक्षण गर्न पुगे। स्थितिलाई मध्यनजर गर्दै सिभिल डिफेन्सको टीमलाई पनि राहत अनि बचाउ कार्यमा खटाइयो।
रेस्क्यू टीमले जलमग्न घरहरूबाट मानिसहरूलाई सुरक्षित बाहिर निकाल्यो भने प्रभावित परिवारहरूसम्म खाद्य सामग्री लगायत अन्य आवश्यक राहत सामग्रीहरू पुऱ्याउने कार्य शुरू गरिएको छ। विभिन्न सामाजिक संस्था अनि राजनीतिक दलहरूले प्रभावित परिवारहरूलाई राहत सामग्री उपलब्ध गराइरहेका छन्।
भीषण जलजमाउको कारणले क्षेत्रवासीले प्रशासन अनि नगरनिगमको व्यवस्थालाई लिएर असन्तुष्टि व्यक्त गरेको पनि देखियो। स्थानीयहरूले चाँड़ोभन्दा चाँड़ो जल निकासी तथा राहत कार्यलाई तीव्रता दिने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा