अमेरिकी अभिनेत्री हेडन पेनेटीयरको ३६ वर्षको उमेरमा निधन
हेडन पैनेटियर फिल्म नैशविले धारावाहिक में म्यूजिक स्टार जूलियट बार्न्स की भूमिका में। फोटो - इंटरनेट मीडिया


कोलम्बिया (दक्षिण क्यारोलिना), अमेरिका, १८ अगस्त (हि.स.)। अमेरिकी अभिनेत्री हेडन पेनेटीयरको आइतबार ३६ वर्षको उमेरमा दक्षिण क्यारोलिनाको ग्रीनभिलमा निधन भएको छ। उनले आफ्नै घरमा अन्तिम श्वास लिएकी हुन्। ग्रीनभिल काउन्टी कोरोनर कार्यालयले यसबारे जानकारी दिएको हो। मृत्युको कारणबारे कोरोनर कार्यालयले जाँच गरिरहेको छ। प्रारम्भिक रूपमा उनको मृत्यु कार्डियाक अरेस्टका कारण भएको हुनसक्ने अनुमान गरिएको छ।

कार्डियाक अरेस्ट हुँदा मुटुको धड्कन अचानक बन्द हुन्छ र शरीरका अंग तथा मस्तिष्कमा रक्तसञ्चार रोकिन्छ। यो मुटुको विद्युतीय प्रणालीमा आएको गडबडीका कारण हुने गर्छ। कार्डियाक अरेस्ट र हार्ट अट्याक भने फरक अवस्था हुन्।

सीएनएनको रिपोर्टअनुसार, पेनेटीयरले २००० को दशकको सुरुवातमै अभिनय क्षेत्रमा आफ्नो पहिचान बनाएकी थिइन्। पछि लागुऔषधको लत तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित चुनौतीका कारण उनी केही समय सार्वजनिक जीवन र अभिनयबाट टाढा रहिन्। हालै उनको एउटा पुस्तक पनि प्रकाशित भएको थियो, जसमा उनले आफ्ना संघर्ष तथा आफ्ना भाई गुमाउँदाको पीडाबारे खुलेर चर्चा गरेकी छन्।

ग्रीनभिल काउन्टी कोरोनर कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार, आइतबार दिउँसो ग्रीनभिलस्थित उनको घरमा उनी अचेत अवस्थामा रहेको जानकारी ९११ मा दिइएको थियो। चिकित्सकहरूले उनलाई होसमा ल्याउने प्रयास गरेका थिए। एडभान्स्ड कार्डियाक लाइफ सपोर्टलगायतका उपचार प्रक्रिया अपनाइए पनि करिब आधा घण्टापछि उनलाई मृत घोषित गरिएको थियो।

सोमबार गरिएको पोस्टमार्टमका क्रममा उनको मृत्युको कारण बन्न सक्ने कुनै गम्भीर चोटपटक फेला नपरेको बताइएको छ। यद्यपि, मृत्युको आधिकारिक कारण थप जाँचका परिणामपछि मात्र पुष्टि हुने कोरोनर कार्यालयले जनाएको छ।

हेडनका पिता स्किप पेनेटीयरले दुःख व्यक्त गर्दै भने, “अत्यन्त दुःखका साथ हामी हाम्री प्यारी हेडनको निधनको खबर साझा गर्दैछौँ। उनी एक अद्भुत व्यक्ति र ऊर्जाले भरिपूर्ण महिला थिइन्। उनले आफ्ना प्रशंसकहरूको जीवनमा अपार प्रेम र खुशी ल्याएकी थिइन्।”

अभिनेता-अभिनेत्रीहरूको संघ एएजी-एफटीआरएले पनि हेडन पेनेटीयरको निधनप्रति शोक व्यक्त गरेको छ। संघका अनुसार, उनी सन् १९९४ देखि यसको सदस्य थिइन्। बाल कलाकारका रूपमा टेलिभिजन र चलचित्रमा लामो करियर बनाएकी हेडनको हीरोज, नेशविल जस्ता टेलिभिजन सिरिजमा गरेको अभिनय निकै चर्चित थियो। संघले उनकी छोरी, परिवार, साथीभाई तथा प्रशंसकहरूप्रति समवेदना व्यक्त गरेको छ।

पेनेटीयरको जन्म २१ अगस्त, १९८९ मा न्यूयोर्कको पेलिसेड्समा भएको थियो। उनको करियर केवल ११ महिनाको उमेरदेखि विज्ञापनमा अभिनय गर्दै शुरु भएको थियो। 1998 मा फिल्म बग्स लाइफ र अ बग्स लाइफ: रीड-अलन्गबाट करियरको शुरुवात गरेकी थिइन्। अ बग्स लाइफ: रीड-अलन्गका लागि ग्रामी अवार्डमा मनोनयन हुने सबैभन्दा कम उमेरका व्यक्तिहरूमध्ये उनी एक बनेकी थिइन्।

प्रशंसकहरूले उनलाई सन् २००५ को चलचित्र आइस प्रिन्सेसमा मिशेल ट्राक्टेनबर्गसँग गरेको अभिनयका लागि पनि सम्झनेछन्। मिशेल ट्राक्टेनबर्गको पनि फरवरी २०२५ मा मधुमेहसम्बन्धी जटिलताका कारण निधन भएको थियो।

किशोरावस्थामै पेनेटीयरले ठूलो लोकप्रियता हासिल गरेकी थिइन्।

पेनेटीयरको पूर्वपति तथा युक्रेनका पूर्व विश्व हेभीवेट बक्सिङ च्याम्पियन व्लादिमिर क्लिट्स्कोसँग एक छोरी छिन्। ११ वर्षीया उनकी छोरीको नाम काया हो। काया आफ्ना पिता व्लादिमिरसँग बस्दै आएकी छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि पेनेटीयरले सार्वजनिक रूपमा युक्रेनको समर्थन गरेकी थिइन्। सन् २०२२ मा उनले युक्रेनका जनताका लागि मेडिकल सामग्री तथा सुरक्षा उपकरण जुटाउन आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले राहत कोषसमेत शुरु गरेकी थिइन्। व्लादिमिरका भाई भिटाली क्लिट्स्को हाल युक्रेनको राजधानी किएभका मेयर हुन्।

हेडन पेनेटीयरको निधनले अमेरिकी मनोरञ्जन क्षेत्रमा शोक छाएको छ भने उनका प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande