जर्नलिस्ट युनियन अफ सिक्किमले 'विश्व फोटोग्राफी दिवस' मनायो
जर्नलिस्ट युनियन अफ सिक्किम


गान्तोक, 19 अगस्त (हि.स.)। जर्नलिस्ट युनियन अफ सिक्किमले (जेयुएस) ले आज गान्तोकस्थित आफ्नो कार्यालयमा 'विश्व फोटोग्राफी दिवस २०२६' मनाउँदै संघका संरक्षक तथा वरिष्ठ फोटोग्राफर स्वर्गीय किरण रसाइलीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। सिक्किमका एक वरिष्ठ वास्तुकार स्वर्गीय रसाइलीको हालैमा निधन भएको छ।

कार्यक्रममा सिक्किम विधानसभाका सचिव ललित कुमार गुरुङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा वरिष्ठ पत्रकार भीम रावत, जेयुएसका अध्यक्ष प्रविण खालिङ, संघका कार्यकारिणी सदस्यहरू र सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा पत्रकार तथा फोटोग्राफरहरूको सिर्जनात्मक योगदानलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले जेयुएसले फोटोग्राफी प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा पत्रकार पारु अत्रीले प्रथम स्थान हासिल गरिन् भने वरिष्ठ पत्रकार बिजय गुरुङ दोस्रो र भिडियो पत्रकार सन्नी रावत तेस्रो भए।

प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने तीनै जना विजेतालाई मुख्य अतिथिको बाहुलीद्वारा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरियो। प्रतियोगितामा सहभागी अन्य सबैलाई पनि सहभागिताको सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रममा जेयुएसको विस्तारित समितिको घोषणा पनि गरिएको थियो। संघलाई थप सुदृढ़ बनाउँदै राज्यभरिका सदस्यहरूबीच व्यापक सहभागिता, समन्वय र सहकार्य सुनिश्चित गर्ने उद्देश्यले समिति विस्तार गरिएको जेयुएसले जनाएको छ।

विस्तारित समितिअन्तर्गत सिक्किमका पाँचवटै जिल्लाबाट एक-एक जना पत्रकारलाई सम्बन्धित जिल्लामा संघका गतिविधि समन्वय गर्ने जिम्मेवारी दिइएको छ। जसअनुसार पाकिम जिल्लाका लागि आदित्य हाङ लिम्बू, मङ्गनका लागि वाङ्चुक भोटिया, गेजिङका लागि रुद्र कौशिक, सोरेङका लागि सरोज गुरुङ तथा नाम्चीका लागि एलेक्स राईलाई जिल्ला संयोजक नियुक्त गरिएको छ।

यसैगरी भीम राउत, जोसेफ लेप्चा र शेखर खवासलाई सल्लाहकार नियुक्त गरिएको छ। यस अतिरिक्त कबिता शर्मा, डीआर दुलाल, बिजय गुरुङ, प्रकाश अधिकारी र बिष्णु न्यौपानेलाई संघका कार्यकारिणी सदस्यका रूपमा नियुक्त गरिएको छ।

जेयुएसका अनुसार, विस्तारित समितिको गठनले राज्यका विभिन्न भागमा रहेका सदस्यहरूको सहभागिता बढाउनुका साथै संघभित्रको समन्वयलाई मजबुत बनाउने र संघका गतिविधि तथा पहलहरूमा सबै सदस्यलाई सक्रिय रूपमा सहभागी गराउने उद्देश्य राखेको छ।

कार्यक्रमको समापन स्वर्गीय किरण रसाइलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिक्किममा पत्रकारिता, फोटोग्राफी तथा पत्रकारहरूको कल्याणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै गरिएको संघकी प्रचार सचिव अनुशिला शर्माले प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छिन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande