खरसाङमा नेपाली भाषा मान्यता दिवस सामरोह साथै सुनौं सुनाऔँको 54औँ प्रकरण सम्पन्न
खरसाङमा नेपाली भाषा दिवस


खरसाङ, 20 अगस्त (हि.स.)। गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा 35औँ नेपाली भाषा मान्यता दिवस सामरोह आज पुस्तकालयको डा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष आईएन शर्माले गरेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व सभापति एवं वरिष्ठ साहित्यकार पूर्ण गुरुङ 'निरुपम', पूर्व सभापति रबीनकुमार प्रधान, सचिव एलडी मोक्तान, वरिष्ठ साहित्यकार जीबी बल, आकाशवाणी खरसाङका पूर्व कार्यक्रम निष्पादक जेपी तामाङ, प्रज्ञा साझा मञ्चका अध्यक्ष रमेश थापा उपस्थित रहेका थिए। सूचना अनि सांस्कृतिक विभाग जीटीएका कलाकारले नेपाली भाषा विषयमा लेखिएको स्वागत गीत प्रस्तुत गरियो।

कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलन र नेपाली भाषाले पाएको मान्यता आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र नेपाली भाषा विषयमा वार्ता आकाशवाणी खरसाङका पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आलेले राखेका थिए। उनले नेपाली भाषा मान्यता आन्दोलनको विस्तृत इतिहास बताउँदै मान्यतासम्मको विवरण प्रस्तुत गरे। उनले नेपाली भाषा मान्यता र नेपाली भाषाको प्रयोगलाई लिएर दर्शक दीर्घामा रहेका अतिथिहरुसित पनि अन्तरक्रिया गरेका थिए।

कार्यक्रमको अर्को चरणमा गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा आयोजना हुने साहित्यिक कार्यक्रम सुनौं सुनाऔँको 54 औँ प्रकरण सम्पन्न भयो। उक्त कार्यक्रममा 13 जना कविहरुले कविताहरु वाचन गरेका थिए। यस साहित्यिक कार्यक्रमलाई कवि एवं सुनौँ सुनाऔँ साहित्यिक प्रकरणका संयोजक विनोद रसाइलीले सञ्चालन गरेका थिए। यस साहित्यिक कार्यक्रममा कविहरु क्रमैेले तारा छेत्री, बालकृष्ण थामी, उषाकिरण सत्यदर्शी, मिना लामा राई, दिल थापा, प्रदीप शेर्पा, हनोक थापा, डा मनोहर भुजेल, शोभा राई, सञ्जीव छेत्री, मिलन प्रधान, विनोद रसाइली आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा अध्यक्षीय सम्बोधन सभाध्यक्ष आईएन शर्माले राखेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande