
गान्तोक, 19 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले १८ र १९ अगस्तमा बर्फुङ निर्वाचन क्षेत्रको भ्रमण गरेका छन्। भ्रमणको मुख्य उद्देश्य तृणमूल स्तरमा पार्टी संगठनलाई सुदृढ़ बनाउनु, पार्टी कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्नुका साथै क्षेत्रका विकास सम्बन्धी समस्या र चुनौतीको स्थलगत जानकारी लिनु रहेको प्रेस विज्ञप्ति उल्लेख छ।
आफ्नो प्रवासका क्रममा पार्टी अध्यक्ष राईले विभिन्न तहका पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै संगठनसम्बन्धी समस्या, सुझाउ र प्रतिक्रिया सुने। उनले सीएपी सिक्किमप्रति कार्यकर्ताहरूले देखाउँदै आएको निरन्तर प्रतिबद्धताको प्रशंसा गर्दै जनतासँग नजिक रहेर उनीहरूका दैनिक समस्या र सरोकारलाई बुझेर काम गर्न आग्रह गरे।
यसैगरी, उनले आम नागरिकसँग पनि भेटघाट गरी उनीहरूका गुनासा तथा समस्याहरू सुने। उनले सीएपी सिक्किमले जनताका वास्तविक समस्यालाई निरन्तर उठाउँदै तत्कालीन राहतदेखि दीर्घकालीन समाधानसम्मका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
भ्रमणको दोस्रो दिन पोलोकमा पार्टी कार्यकर्ताहरूको साधारण सभा आयोजना गरियो। सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले लोकतन्त्रमा बलियो र जिम्मेवार प्रतिपक्षको महत्व तथा सरकारलाई जवाफदेही, पारदर्शी र सुशासनमुखी बनाउन प्रतिपक्षको भूमिकाबारे चर्चा गरे। उनले एसीईसी तहको संगठनलाई बलियो बनाउनु पार्टीको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै सबै नेता तथा कार्यकर्तालाई अनुशासन, एकता र जिम्मेवारीको भावनाका साथ काम गर्न आह्वान गरे।
राईले पार्टीका जारी कार्यक्रम तथा आगामी संगठनात्मक पहलहरूबारे पनि जानकारी दिए। उनले जनसहभागितामा आधारित राजनीति र ‘क्राउडफन्डिङ’ को महत्वबारे चर्चा गर्दै बलियो राजनीतिक संगठन जनतासँग जोडिएको हुनुपर्ने र जनताको सहभागिता तथा योगदानबाट समर्थित हुनुपर्ने बताए। उनले सीएपी सिक्किमले हालसम्म गरेका विभिन्न कार्यहरूको उदाहरण दिँदै जनताको सेवा र संगठन सुदृढीकरणका लागि गरिने वैध प्रयासमा पार्टीले क्षेत्रीय नेतृत्वलाई पूर्ण सहयोग गर्ने आश्वासन दिए।
उनले सबै नेताहरूलाई पार्टीले तय गरेका कार्यक्रम, नीति तथा संगठनात्मक दिशानिर्देशलाई जिम्मेवारीपूर्वक पालना गर्न र प्रत्येक संगठनात्मक गतिविधिले पार्टीलाई बलियो बनाउनुका साथै जनतासँगको सम्बन्ध थप मजबुत बनाउन अर्थपूर्ण योगदान पुर्याउने सुनिश्चित गर्न आग्रह गरे।
बर्फुङ निर्वाचन क्षेत्रमा सम्पन्न दुईदिने प्रवास कार्यक्रमले पार्टी नेतृत्वलाई स्थानीय समस्या प्रत्यक्ष रूपमा बुझ्ने, कार्यकर्ता तथा आम नागरिकसँग अन्तरक्रिया गर्ने र निर्वाचन क्षेत्रका चुनौतीबारे जानकारी लिने अवसर प्रदान गरेको सीएपी सिक्किमले जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल