नथुलाबाट संकलित राजस्वमा देखिएको कथित अन्तरबारे स्पष्ट र पारदर्शी हिसाबको माग
प्रकाश ली


गान्तोक, 19 अगस्त (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले नथुलाबाट संकलित पर्यटन राजस्वमा देखिएको कथित ठूलो अन्तरबारे सरकारसँग स्पष्ट र पारदर्शी हिसाब माग गरेको छ।

एसडीएफका सदस्य प्रकाश लीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मुख्यमन्त्रीले २०२५ मा नथुलामा करिब १५ लाख पर्यटक पुगेको उल्लेख गर्दै उक्त पर्यटक आगमनबाट करिब ₹३१ करोड राजस्व उठ्ने अनुमान भए पनि सरकारी खातामा करिब ₹३ करोड मात्र जम्मा भएको दाबी गरेको उल्लेख गरेका छन्। यदि मुख्यमन्त्रीले बताएको तथ्यांक सही हो भने बाँकी करिब ₹२८ करोड कहाँ गयो भन्ने प्रश्न उठ्ने लीले बताएका छन्।

उनले परमिट जारी गर्ने तथा राजस्व संकलन गर्ने जिम्मेवार निकाय, संकलित रकमको अनुगमन गर्ने अधिकारी तथा सरकारी खातामा रकम जम्मा भएको सुनिश्चित गर्ने प्रक्रियाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन्। लीले यस विषयमा उचित लेखापरीक्षण, विभागीय छानबिन वा स्वतन्त्र अनुसन्धान गरिएको छ कि छैन भन्ने प्रश्न पनि उठाएका छन्।

उनले वित्तीय अनियमितता वा सार्वजनिक राजस्वको दुरुपयोग पुष्टि भए सम्बन्धित व्यक्ति वा निकायविरुद्ध कानुनी कारबाही गर्नुपर्ने माग पनि गरेका छन्। उनले २०१९ देखि २०२४ सम्मको नथुला पर्यटक आगमन र राजस्वको वर्षगत विवरणसमेत सार्वजनिक गर्न माग गरेका छन्। उनले विगतका वर्षहरूमा पनि यस्तै अन्तर रहेको छ भने त्यसको रकम ठूलो हुन सक्ने भएकाले समग्र लेखापरीक्षण आवश्यक रहेको उनले बताएका छन्।

उनले सरकारसँग जवाफदेहिता, पारदर्शिता र सार्वजनिक राजस्वको उचित हिसाब सुनिश्चित गर्न माग गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande