
खरसाङ, 20 अगस्त (हि.स.)। खरसाङकी स्रष्टा आशा मुखिया लामालाई उनको नियात्रा सङ्ग्रह 'चिसो मरुभूमितिर' को लागि पश्चिम सिक्किमको गेजिङमा बीबी मुरिङ्ला स्मृति पुरस्कार प्रदान गरिएको छ। उनको यस नियात्रा कृतिलाई नेपाली भाषा मान्यता दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।
पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङद्वारा आयोजित नेपाली भाषा मान्यता दिवस कार्यक्रममा उक्त प्रतिष्ठित साहित्यिक पुरस्कार प्रदान गरियो। उक्त साहित्यिक पुरस्कार डा शोभाकान्ति थेगिम स्मृति पुरस्कारका संस्थापक डुप छिरिङ लेप्चाको प्रायोजनमा प्रदान गरिएको बताइएको छ।
यस अवसरमा स्रष्टा आशा मुखिया लामालाई कार्यक्रमको अध्यक्ष नारायण खतिवडा, प्रमुख अतिथिको रुपमा उपस्थित सिक्किम सरकारका मन्त्री एवं क्षेत्र विधायक भीमहाङ सुब्बा, विशिष्ट अतिथि गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी डेञ्जोङ्पा र डा शोभाकान्ति थेगिम स्मृति ट्रष्टका परिवारका सदस्यहरुको बाहुलीबाट खदार्पणसहित स्मृति चिन्ह, अंग वस्त्र, सम्मान पत्र, नगदराशि 25 हजार, बिरुवाको गमला र पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङद्वारा प्रकाशित पुस्तकहरू प्रदान गरिएको छ।
उक्त पुरस्कारले आफुलाई अझ लेख्ने ऊर्जा मिलेको र साहित्य सेवामा निरन्तर सक्रियताको साथमा लागि पर्ने स्रष्टा आशा मुखिया लामाले बताएकी छन्। उनले यस पुरस्कारको लागि आयोजक समिति साथै आफुलाई सहयोग र साथ दिने सबैप्रति आभार प्रकट गरेकी छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक